हेटौंडाः जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा उच्च जोखिम देखिएको अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार हेटौंडामा सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार अध्ययनमा सहभागी हुने व्यक्तिहरुले कृषि उत्पादनमा बढी क्षति भएको र बढी जोखिम व्यहोर्नु परेको प्रतिक्रिया दिएको तथ्यांक सार्वजनिक भएको हो ।

अध्ययनको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका वातावरण शाखा निर्देशक प्रमोद राज रेग्मीले सुख्खा खडेरी बढेको धेरै उत्तरदाताले अनुभव गरेको जानकारी दिनुभयो । त्यसैगरी खडेरीसँगै बढेका किरा फट्यांङग्राका कारण बालीनालीमा रोग लागेर उत्पादकत्वमा कमी आएको र प्राकृतिक प्रकोपका कारण पनि बालीनाली क्षति भएको उत्तरदाताको अनुभव छ । अध्ययनले जलवायु परिवर्तनका कारण नेपालमा विगत पाँच वर्षमा चार खर्ब रुपियाँभन्दा बढीको आर्थिक क्षति भएको देखाएको छ । कार्यालयले सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार जलवायु परिवर्तनका कारण विगत पाँच वर्षमा ४ खर्ब १५ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षती भएको देखिएको हो । जसमा सहभागीहरुमध्ये केहीले १५ हजारभन्दा बढी क्षति भएको बताएका थिए भने केहीले ६० हजारभन्दा बढी क्षति भएको बताएका थिए । अध्ययनमा अधिकांश सहभागीको उत्तर यहीबीचमा रहेको देखिएको छ ।

अध्ययनमा नेपालका ३६ प्रतिशत सर्वेक्षणमा सहभागीले जलवायु परिवर्तनको महसुस गरेको बताएका थिए । सर्वेक्षणमा २५ वर्षभन्दा बढी समयदेखि एकै क्षेत्रमा बसोबास गर्दै आएका ४५ वर्षभन्दा बढी उमेर भएका व्यक्तिको अनुभवलाई समावेश गरिएको उल्लेख छ । नेपालको २९ जिल्लाका ६ हजार ५ सय २० घरधुरीमा सर्वेक्षण गरिएको थियो । नेपालमा हरेक दुई वर्षमा जलवायु परिवर्तनको तथ्यांक सार्वजनिक हुँदै आएको छ ।

प्रतिवेदनमा जलवायु परिवर्तनका कारण सबैभन्दा धेरै आर्थिक क्षती भएको उल्लेख गरिएपनि त्यसबाट भएका सामाजिक प्रभावलाई समेत समेटिएको छ । प्रतिवेदन अनुसार नेपालमा मौसमी तापमान क्रमिक रुपमा बढ्दै आएको र पानी कम पर्ने गरेको देखिएको छ । जलवायु परिवर्तनका कारण उपादकत्वमा प्रभाव पारेको, मानव स्वास्थ्यमा र बालिनालिमा प्रभाव पारेको देखिएको छ ।

कार्यालयले बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजना गरेको ‘नेशनल क्लाइमेट चेन्ज सर्भे २०२२’ प्रतिवेदन सार्वजनिक कार्यक्रममा तथ्यांक कार्यालय मकवानपुरका तथ्यांक अधिकृत रागिनी कुमारी वर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा सिन्धुलीका तथ्यांक अधिकृत राजेश दास, चितवनका तथ्यांक अधिकृत विमल कुमार यादव, विद्यालयका शिक्षकहरु, कर्मचारी लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।