फोटो सौजन्य/रामकुमार एलन

हेटौंडाः सत्ता गठबन्धन साझेदार दल नेकपा (एकीकृत समाजवादी) मकवानपुरले गठबन्धनका दलहरु र मकवानपुरका मतदातामा धन्यवाद ज्ञापन गरेको छ । आइतबार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडालाई उम्मेदवार बनाउने गठबन्धन र मतदान गर्ने मतदातालाई आभार व्यक्त गरेको हो ।

अध्यक्ष सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका शीर्ष नेताहरुले कमजोर संगठन, अरुको गठजोड, आर्थिक अभाव तथा नयाँ शक्तिहरुको बलियो उपस्थितिमा पनि इमानदार भएर मतदान गर्ने ३० हजार भन्दा बढी मतदातालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको हो । निर्वाचन क्षेत्र नम्बर २ को वडाहरुमा समेत मतदाताकहाँ पुगेर धन्यवाद ज्ञापन गर्ने समाजवादीको तयारी छ ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का बागमती प्रदेश इञ्चार्ज एवम् उपाध्यक्ष केदार न्यौपानेले निर्वाचन परिणाममा झिनो मतले हारजित भए पनि संगठन बलियो पारेर अघि बढ्न सके मकवानपुरमा समाजवादी पार्टी बलियो हुने बताए । यस्तै, स्थायी कमिटी सदस्य ललित बस्नेतले कम जनशक्ति भएको पार्टीले गठबन्धनको जोडमा चुनावमा होमिँदा यस्ता अप्ठ्यारा परिस्थिति आइलाग्ने भएकाले यसलाई सिकाईका रुपमा लिएर अघि बढ्नुपर्ने बताए ।

निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवम् स्थायी कमिटी सदस्य विरोध खतिवडाले प्राविधिक रुपमा निर्वाचनमा पराजय हुनुमा अरुको गठजोडको आन्तरिक समस्या भए पनि नेता कार्यकर्तालाई निराश नभई पार्टी काममा लाग्न र सक्रिय रहन आग्रह गर्दै आफू पनि मकवानपुरे जनतासँग निरन्तर सम्पर्कमा रहेर पार्टी काममा लागिरहने स्पष्ट पारेका छन् ।

एकीकृत समाजवादीले आगामी पुस ९ गते विस्तारित बैठक र भेला बोलाउने भएको छ । भेलाले पार्टीको मकवानपुर नेतृत्व हेरफेर समेत गर्ने तयारी गरेको सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख रामकुमार एलनले जानकारी दिए । स्थानीय तह निर्वाचनअघि नै पार्टीका तत्कालील अध्यक्ष श्रीधर पोखरेलले पार्टी छाडेपछि केन्द्रीय सदस्य सूर्यचन्द्र न्यौपानेले पार्टी अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् ।