संयोजक ठकुरी

हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सम्बद्ध युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानीय तह चुनाव भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल परिचालन गर्ने भएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन स्वयंसेवकको रुपमा वाइसिएल परिचालित हुने वाइसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिए ।

संयोजक ठकुरीका अनुसार १ बुथ २५ युथ भन्ने नारासहित जिल्लामा वाइसिएलले सुरक्षाका लागि काम गर्नेछ । संवेदनशील स्थानहरुमा भने ५० देखि ६० जना परिचालन गर्ने तयारी रहेको उनले बताए । निर्वाचनको मौन अबधि सुरु भएपछि भित्रीरुपमा गरिने चलखेल, नगद तथा मतदाताको अमूल्य मतलाई १ बोरा चामलमा खरिद गर्नसक्ने जस्ता अपराधिक गतिबिधीहरुमा वाइसिएल मकवानपुरले निगरानी राख्ने ठकुरीको भनाई छ।

प्रत्येक मतदातालाई भयरहित वातावरणमा आफूले चाहेको प्रतिनीधि छान्ने अधिकारको सुरक्षा गर्न वाइसिएल नेपाल लागिपर्ने उनी बताउँछन् । जिल्लामा रहेको १ सय ६५ मतदान स्थलहरुमा ६ हजारको हाराहारीमा वाइसिएल खट्ने संयोजक ठकुरीको भनाई छ । वाइसिएलले मौन अबधिदेखी मत गणनासम्म २४ सै घण्टा पहरा दिने बताइन्छ ।