रन्जिता डंगोल/हेटौंडा: व्यस्त बजारको नजिकै एउटा सानो कोठा छ । ह्वीलचियरको सहायतामा उठेर कुर्सीमा बस्छिन् । एउटा खुट्टाको सहयोगमा मेसिन चलाउँछिन् र टुक्रा–टुक्रामा छरिएका कपडालाई सुन्दर आकार दिन्छिन् । उनी हुन्, हेटौंडा–४, कर्राकी सरिता थापा ।

हाल हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, कर्राचोकमा सिलाई व्यवसाय सञ्चालन गर्दै आएकी सरिता थापाले ५० हजार रुपैयाँ लागतबाट सिलाई व्यवसाय सुरु गरेकी हुन् । उनी एउटा खुट्टाको सहायतामा दैनिक चार÷पाँच जोर कपडा सिलाउँछिन् । २०५९ सालबाट नै आफूले सिलाई कटाई सिकेको बताउने उनले २०७१ सालमा लेभल वान, २०७२ मा लेभल टु को कोर्ष पूरा गरेपश्चात प्रशिक्षण पनि दिँदै आएकी छिन् । सुरुवातका समय अर्थात् २०७५ सालमा अपाङ्ग जनजाति महासंघबाट ऋण माग गरि ५० हजार रुपैयाँबाट आफूले सिलाई व्यवसाय सुरु गरेको र बिचमा केही समय कोभिडको मारमा परेपछि यस व्यवसायले राम्रो गति लिन नसकेको उनको अनुभव छ ।

कोरोना संकटबाट बाहिर निस्केपछि बिस्तारै उनले आफ्नो कामलाई पुनः व्यवसायिक रुपमा अघि बढाउन थालेकी छन् । केही गर्नुपर्छ भन्ने सोचका साथ हाल कर्रा चोकमा व्यवसाय सुरुवात गरेको उनले बताइन् । सिलाई कटाई सीप सिक्न आउनेहरुलाई पनि उनले सिकाउँदै आईरहेकी छन् । यसअघि सिटीभीटी, घरेलु तथा साना उद्योग कार्यालय लगायका संघ, संस्थाको सहयोगमा आफूले सिलाई सीप सिकेको बताउने सरिता आफू सक्षम भईसकेपछि पनि सोही संस्थाको मातहतमा रहेर सर्लाहीको मलंगवा, पर्साको बीरञ्गज, मकवानपुरको भिमफेदी लगायतको स्थानहरुमा प्रशिक्षकको रुपमा काम गरेको बताउँछिन् ।
हालका दिनहरुमा ह्वीलचियरको साथमा व्यवसायिक जीवन गुजारिरहेकी सरिता जन्मजात अपाङ्गता भने होइनन् । उनी सात बर्षको भएपछि आफूमा यस्तो खालको समस्या देखा परेको बताउँछिन् । अपाङ्ग सरोकार केन्द्रले आयोजना गरेको सिबिरमा बिदेशबाट आएको डाक्टरलाई स्वास्थ्य परीक्षण गराएकी थिइन् । त्यतिबेला डाक्टरले भनेका थिए, ‘यो पोलियो होइन, खोप लगाउने क्रममा खोपको टुप्पाले शरीर भित्रको हड्डीलाई छोएकोले नसा सुकेको कारण यस्तो भएको हुनसक्छ ।’ उनको दायाँ खुट्टाले काम गर्न सक्दैन । सिलाई व्यवसाय गर्नुभन्दा अगाडी जिल्ला विकास समितिमा दोभाषेको रुपमा तीन वर्ष काम गरेको उनको अनुभव छ ।

अपाङ्गतामैत्री संरचना
सिलाई कटाई प्रशिक्षणकै शिलशिलामा सरितालाई विभिन्न स्थानहरुबाट कामको लागि अवसर आउने गरेको छ । धेरैजसो ग्रामीण भेगमा तालिम दिने अवसर आउँछन् । शहर बजारमा तालिम दिन अवसर आएपनि तालिम सञ्चालन हुने भवनहरु, त्यहाँका संरचनाहरु अपाङ्गमैत्री हुन्नन् । जसका कारण सरिताले यस्ता धेरै अवसरहरु गुमाउनु परेको छ । हाल अधिकांश सरकारी कार्यालयहरु अपाङ्गमैत्री भएपनि अन्य भवन, संरचनाहरु अझै अपाङ्गमैत्री हुन नसक्दा आफूहरुले अवसर लिन समस्या भएको उनले बताइन् ।
आजभोली संघ संस्थाहरु च्याउसरी उम्रेको भएर पनि होला, अपाङ्गता भएकाहरु सक्षम भए पनि अवसर कम आउने गरेको अपाङ्गता भएकाहरुको अनुभव छ । सरकारी कार्यालबाट तीन महिनाको लागि सिलाई कटाई तालिम दिने अवसर आएपनि १५ प्रतिशतले राजश्व काट्ने गरिन्छ । गैर सरकारी संघ, संस्थाबाट आउने यस्तो अवसरहरुमा संस्थाले १ प्रतिशतले राजश्व काट्ने भएपनि आफूले गरेको कामको पारिश्रमिक लिन समेत धेरै समस्या हुने गरेको उनीहरुको तीतो अनुभव छ ।

दायाँ खुट्टाको घुँडाभन्दा तल्लो भाग नभएपनि कृतिम खुट्टाको सहयोगमा संस्था सम्हालिरहेकी अर्की हस्ती हुन्, सिता मल्ल ठकुरी । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशमा कार्यक्रम अधिकृतको रुपमा उनी कार्यरत छिन् । उनको पनि उस्तै कथाव्यथा छ । आफू १२ वर्षको हुँदा खुट्टामा क्यान्सर भएपछि आफ्नो घुँडाभन्दा तल्लो भाग काटेर फाल्नु परेको उनी बताउँछिन् । सिता मकवानपुर बहुमुखी क्याम्पसबाट समाजशास्त्रमा मास्टरर्स गरिरहेकी छिन् । आफूले अपाङ्गताको क्षेत्रमा, अपाङ्गता भएकाहरुको सवालमा काम गर्न पाउँदा खुसी लाग्ने उनी बताउँछिन् ।

संस्थाले १३ वटा जिल्लामा अपाङ्गता भएकाहरुका लागि सिलाई कटाई, बेकरी तालिम, गुडिया बनाउने तालिमहरु दिँदै आएको छ । राज्यको संरचना रुपान्तरण भएसँगै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९।०८० को लागि नीति तथा कार्यक्रमको तर्जुमा गरिरहेको सन्दर्भमा प्रदेश स्तरका नीति निर्माण तथा कार्यान्वयन, अनुगमन, मुल्याङ्कन, अपाङ्गता भएका व्यक्तिका सवालको समावेशीकरण र अपाङ्गता भएका व्यक्तिको अर्थपूर्ण सहभागिताको सुनिश्चितताको लागि प्रदेश सरकारको ध्यानाकर्षण समेत गराईएको अधिकृत मल्ल ठकुरीले जानकारी दिइन् । अपाङ्गता भएपनि सवल मानिस सरह आफ्नै पौरखमा जीवनयापन गर्दै आइरहेका मध्ये एक सिता सफल र उदाहरणीय महिला हुन्, भन्दा फरक नपर्ला ।

अपाङ्गता के हो?
अपाङ्गता भन्नाले शरीरको कुनै अंग फरक देखिनु वा नहुनुलाई बुझ्नुपर्छ । सामान्यतया मानिसले बुझ्ने भाषामा भन्ने हो भने हात, खुट्टा वा महत्वपूर्ण शारिरीक अंगमा समस्या भएको मानिसलाई अपाङ्गता भएको भनेर बुझ्ने गर्दछौं । त्यस्तै, जन्मजात हुने अपाङ्गता र जन्मपछि हुने अपाङ्गता फरक रहन्छ । जन्मजात भन्नाले जन्मसँगै बोकेर आउने र जन्म पश्चात भन्नाले द्वन्द्वकालमा भएका घटना वा विभिन्न खालका दुर्घटनाका कारणले पनि अपाङ्गता हुनसक्छ । अपाङ्गता भनेको अवस्था हो । हामीले मानिसलाई होइन, समस्यालाई सम्बोधन गर्नुपर्दछ । त्यसकारण अचेल अपाङ्ग मानिस भन्नुको सट्टा अपाङ्गता भएको व्यक्ति भनी सम्बोधन गरिनुपर्दछ भन्ने मान्यता विकसित भएको छ । नेपालको कानूनले अपाङ्गतालाई विभिन्न ७ प्रकारमा वर्गीकरण गरेको छ ।
सरकारी कार्यालय
साना व्यवसाय सञ्चालन गरेर बसेका अपाङ्गता भएका व्यक्तिहरु हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका विकास महाशाखामा आर्थिक सहयोगको लागि नआएको र कार्यालयबाट पनि यस क्षेत्रमा आर्थिक सहयोगका लागि बजेट विनियोजन नभएको महाशाखा अधिकृत जगन्नाथ सापकोटाले जानकारी दिए । नगरमा महाशाखाबाट २०७५ सालबाट ‘क’ वर्ग अर्थात रातो कार्ड भएका व्यक्तिहरु एक सय ४७ जना र ‘ख’ वर्ग अर्थात नीलो कार्ड भएको व्यक्ति तीन सय ५८ जना र ‘ग’ वर्ग अर्थात पहेँलो कार्ड भएको व्यक्ति एक सय ५३ जना र ‘घ’ वर्ग अर्थात सेतो कार्ड भएको ५६ जना रहेका महाशाखा अधिकृत सापकोटाले जानकारी दिए । अपाङ्गता भएको अवस्था र नियम अनुसार कागजात हेरी परिचयपत्र वितरण र स्वास्थ्य परीक्षण गर्ने गरेको उनले बताए ।

नेपालमा रातो कार्ड भएकाहरुका लागि मासिक चार हजार रुपैयाँ र नीलो कार्ड हुनेहरुलाई मासिक दुई हजार एक सय रुयैयाँ सरकारले उपलब्ध गराउँदै आएको छ । पहेँलो र सेतो कार्ड भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था नभएपनि राज्यबाट अन्य विभिन्न खालको सेवा उपलब्ध गराउँदै आएको देखिन्छ । नेपाल सरकारबाट राजपत्र खण्ड ५६, २०६३ भदौमा अपाङ्गता सम्बन्धी गम्भीरताका आधारमा वर्गीकरण गरिएको छ ।

रातो कार्ड
पूर्ण अशक्त अपाङ्गता भएको व्यक्तिको शारीरिक वा मानसिक प्रणालीहरुमा भएको कार्यगत बिचलनका कारण अरुको सहारा लिएर दैनिक जीवनयापन गर्दै आएका व्यक्तिहरु, तीब्र बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, पूर्ण रुपमा श्रवण दृष्टिविहीन व्यक्तिहरु तथा आफै हलचल गर्न नसक्ने गरी पूर्ण रुपमा अशक्त भई अपाङ्गता भएका व्यक्तिहरुलाई रातो कार्ड वितरण गरिन्छ ।

नीलो कार्ड
अति अशक्त अपाङ्गता, निरन्तर अरुको सहयोग लिएर मात्र दैनिक जीवनयापन गर्न, आवागमन गर्न, संचार गर्न, लेखपढ गर्न सक्षम हुने व्यक्तिहरु, पोलियो वा अन्य कारणले शरीरको तल्लो भाग पूर्ण सक्रिय नभई वा मेरुदण्डमा चोट वा पक्षघात भई वा मांशपेशी बिचलन भई वा मस्तिष्क पक्षघात भई कम्मरभन्दा मुनिका भाग क्रियाशील हुन नसकी ह्वीलचियरको प्रयोग गर्ने अवस्थाका व्यक्तिहरु, दुबै हातको पाखुरामुनिको अंग नभएका वा नचल्ने, कम्मरभन्दा मुनिको अंग नभएको वा नचल्ने व्यक्तिहरु, दुबै खुट्टा पूर्ण क्रियाशील नभई बैशाखीको प्रयोग गर्ने व्यक्तिहरु, पूर्ण दृष्टिविहीन व्यक्तिहरु, बहिरा व्यक्तिहरु, दैनिक जीवन सम्पादन आफै गर्न सक्ने तर सिकाईमा समस्या भएका बौद्धिक अपाङ्गता भएको व्यक्तिहरु, निरन्तर अरुको सहयोग लिइरहनु पर्ने, बहु अपाङ्गता भएका व्यक्तिहरुलाई नीलो कार्ड वितरण गरिन्छ ।

पहेँलो कार्ड
मध्यम अपाङ्गता कृतिम अंगको प्रयोग वा सहायक सामग्रीको प्रयोगबाट दैनिक जीवन सम्पादन आफै गर्न सक्ने, पोलियो भई घुँडामुनिको अंगमा मात्र प्रभाव परेको, स्वतन्त्र रुपमा हिँडडुल गर्न सक्ने शारिरीक रुपमा अपाङ्गता भएका व्यक्तिहरु, हत्केलाभन्दा मुनिका कम्तीमा बुढीऔंला र चोरीऔंला नभएका तथा कुर्कुच्चाभन्दा मुनिको भाग नभएका, मेरुदण्डमा समस्या भई ढाड कुप्रिएको, सिकाईमा ढिला भएका तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरु, श्रवण यन्त्रको शल्यक्रियाबाट स्वययन्त्र झिकी घाँटीको नलीबाट मात्र बोल्नसक्ने व्यक्तिहरु, तीब्र भकभके व्यक्तिहरुलाई पहेँलो कार्ड वितरण गरिन्छ । –समृद्ध समाज दैनिकबाट