अञ्जली थापा–
हेटौंडाः १० वटा स्थानीय तह रहेको मकवानपुरमा कूल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना पुगेको छ । बिगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएर कूल मतदाता संख्या ३ लाख नजिक पुगेको निर्वाचन कार्यालयले जनाएको छ ।
प्राप्त जानकारी अनुसार ईन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ९५, कैलाश गाउँपालिकामा १४ हजार ६ सय २०, थाहा नगरपालिकामा ३२ हजार ३ सय १६, बकैया गाउँपालिकामा ३० हजार १३, बागमती गाउँपालिकामा २२ हजार ९० जना मतदाता छन् । त्यस्तै भिमफेदी गाउँपालिकामा १७ हजार ४ सय ९०, मकवानपुरगढी गाउँपालिकामा १९ हजार १ सय ५०, मनहरी गाउँपालिकामा २६ हजार ७ सय ५१, राक्सीराङ गाउँपालिकामा १५ हजार ८ सय ७३ र हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ जना मतदाता रहेका निर्वाचन कार्यालय मकवानपुरले जानकारी दिएको हो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा मकवानपुरमा २ लाख २७ हजार ७ सय जना मतदाता थिए ।
स्थानीय तहको निर्वाचनका लागि मकवानपुरको १ मतदान स्थल सारिने र १ थपिने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका—४ स्थित बासुदेव सभागृहको मतदानस्थल सारेर हेटौंडा उपमहानगरपालिका—४ भुटनदेबी माध्यमिक विद्यालयमा सारिने निर्णय भएको निर्वाचन कार्यालयले जनाएको छ । बासुदेव सभागृह भत्काएर नयाँ भवन निर्माण कार्य भइरहेकोले मतदानस्थल सारिएको जनाइएको छ । त्यसैगरी मनहरी गाउँपालिकामा १ मतदानस्थल थप्ने निर्णय भएको छ । मनहरी—६ मा मतदानस्थल थपिने भएको हो । –रासस