प्रतिष्ठानको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै सामाजिक विकासमन्त्री मोक्तान

हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले शहीद स्मृति प्रतिष्ठानहरुलाई सबैले अपनत्व महसुस गर्ने किसिमको बनाउन सुझाव दिनुभएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका–१२, स्थित शहीद एकनाथ सुवेदी (आकाश) स्मृति प्रतिष्ठान, नेपालको कार्यालय उद्घाटन गर्दै मन्त्री मोक्तानले यस्तो सुझाव दिनुभएको हो ।

प्रतिष्ठानको कार्यालय उद्घाटनपछि मन्तव्य दिँदै मन्त्री मोक्तानले शहीद स्मृति प्रतिष्ठानहरु एउटा पार्टीको भन्दा पनि सबैले अपनत्व गर्ने खालको हुनुपर्ने विचार व्यक्त गर्नुभयो । वर्गीय मुक्ती आन्दोलनको क्रममा सशस्त्र युद्धताका ज्यानको आहूति दिने सबैप्रति उत्तिकै स्मरण गरेपनि पार्टीले सबै शहीदको नाममा प्रतिष्ठान बनाउन नसकेकोले केही शहीदका नाममा स्थापित प्रतिष्ठानहरुले सबै शहीदको सम्बोधन हुने गरी काम गर्नुपर्नेमा मन्त्री मोक्तानको जोड थियो । जिल्लामा १०२ जना शहीद छन् ।

सम्मान पत्रसहित मन्त्री मोक्तानलाई बधाई ज्ञापन गर्दै प्रतिष्ठानका सल्लाहकार कृष्णकुमारी सुवेदी, साथमा अन्य सहभागीहरु

संस्थागत रुपमा पार्टीले गर्न नसकेपनि स्वतः स्फूर्त रुपमा केही शहीदका नाममा प्रतिष्ठान स्थापना हुनु सकारात्मक पाटो भएको भन्दै मन्त्री मोक्तानले यस्ता प्रतिष्ठानहरुलाई सबैले संरक्षण र विकास गर्नुपर्ने बताउनुभयो । साथै उहाँले प्रतिष्ठानको संरक्षण र विकासमा आफ्नो तर्फबाट पनि सहयोग गर्ने वचन दिनुभयो । आफ्नो वर्गभन्दा बाहिर नजाने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आफ्नो भूमिका रहेको अवस्थामा प्रदेशमा स्थापित प्रतिष्ठानहरुमा आवश्यक सहयोग गर्ने बताउनुभयो।

प्रतिष्ठानको उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै सांसद पुलामी

उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गर्दै बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले राम्रोसँग काम गर्न प्रतिष्ठानलाई सुझाव दिनुभयो । कतिपय ठाउँमा शहीदका नाममा बनेका बाटिकाको बेवास्ता गरिएको भन्दै सांसद पुलामीले यस्ता चीजहरुको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । शहीद सबैको साझा भएकोले समाजले पनि यस्ता विषयमा ध्यान दिनुपर्ने उहाँको भनाई थियो । स्थापित प्रतिष्ठानलाई व्यवस्थित तरिकाले चलाउन सुझाव दिँदै उहाँले आफ्नो तर्फबाट सहयोग रहने स्पष्ट पार्नुभयो ।

अतिथिहरुको साथमा प्रतिष्ठान कार्यसमिति र कार्यक्रमका सहभागीहरु
प्रतिष्ठानको कार्यालय उद्घाटन गरिँदै
स्थानीय विकासको लागि सामाजिक विकासमन्त्री मोक्तानलाई सुझाव दिँदै कार्यक्रमका एक सहभागी

वि.सं. २०७७ सालमा स्थापना भएको प्रतिष्ठानको केन्द्रीय कार्यालय हेटौंडा–१२, स्थित पदमपोखरीमा स्थापना गरिएको हो । प्रतिष्ठानका सल्लाहकार कृष्णकुमारी सुवेदी (कमला)को सभाध्यक्षतामा प्रतिष्ठानको कार्यालय उद्घाटन तथा मन्त्री मोक्तानलाई बधाई ज्ञापन कार्यक्रम भएको थियो । कार्यक्रममा अनेरास्ववियु (क्रान्तिकारी)का पूर्व उपाध्यक्ष विजय गौतम, हेटौंडा–१२, का अध्यक्ष ललित घलान, सदस्य भुवन खनाल लगायत स्थानीयहरु सहभागी भएका थिए ।