हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नागरिकलाई पत्रकारले सही सूचना दिनुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले शुक्रबार हेटौैंडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उहाँले आम नागरिकलाई सही सूचना दिई जिम्मेवार भएर काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभएको हो ।

मिडियाले गलत भ्रम छर्न नहुने र सूचनाको पहुँच विस्तारमा समेत जोड दिनुपर्नेतर्फ उहाँले ध्यानाकर्षण गराउनुभयो । पत्रकार र मिडियाको संस्थागत विकासमा आफू र हेटौंडा उपमहानगरपालिका सदैव तत्पर रहेको मेयर महतको भनाई थियो । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा मेयर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुब अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्षहरु रुपेश दुलाल र सम्झना कार्की, प्रदेश महासचिव कृष्ण सारु मगर, पूर्व अध्यक्ष नवराज शर्मा, प्रताप विष्ट, कौशल पाण्डे, राममणि दाहाल, भानुभक्त आचार्य, निवर्तमान अध्यक्ष हरि हुमागाईं, सल्लाहकार बालकृष्ण अधिकारी, प्रेस चौतारीका बागमती प्रदेश संयोजक प्रकाश दाहाल, स्वतन्त्र पत्रकार संघ, मकवानपुरका अध्यक्ष गोकुल अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।