हेटौंडा: काभ्रे जिल्ला खानीखोला गाउँपालिका – ७ बस्ने ३० वर्षीय फोक्सो रोगी रुपेश थिङको उपचार सहयोगार्थ कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्र ‘लाइफ पार्टनर’ (जिन्दगीको साथी) हेटौंडामा प्रदर्शन हुने भएको छ ।

थिङ विगत चार महिनादेखि दायाँपट्टिको फोक्सोमा रगत जमेर फोक्सो सुकेको र नाकबाट रगत बगिरहने स्वास्थ्य समस्याबाट पीडित भई उपचाररत छन् । चलचित्र प्रदर्शनपश्चात प्राप्त रकम हाल गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचाररत थिङको उपचारका लागि प्रदान गरिने प्रदर्शन टिमले जनाएको छ । कालिदेवी मिडिया हाउसको मुख्य पहलमा थिङको उपचार सहयोगार्थ उक्त चलचित्र हेटौंडामा प्रदर्शन गर्न लागिएको चलचित्रका निर्देशक विनायक तामाङले जानकारी दिए । ‘च्यारिटी शो’का लागि खानीखोला तथा दोर्जे मिडिया हाउसको समेत साझा पहल रहेको छ ।

‘लाइफ पार्टनर’ चलचित्र तामाङ संस्कृतिमा आधारित नेपाली भाषाको राजनीतिक विषयवस्तु एवम् प्रेम कथामा आधारित रहेको छ । चलचित्रका निर्माता सन्चकुमारी तामाङ, द्वन्द्व निर्देशक राजु किराँत, संगीत प्रतिक मोक्तान, कार्यकारी निर्माता बुद्धछिरिङ तामाङ रहेका छन् । चलचित्र सन्देशमूलकका साथै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने खालको रहेको निर्देशक तामाङको दावी छ । चलचित्र हेटौंडाको नारायणी मलस्थित असोज ९ गते दिउँसो १ बजे प्रदर्शन हुँदैछ ।