हेटौंडाः बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले एमसिसीको रकमले आमुल परिवर्तन हुने हो भने उक्त रकम सरकारले नेपालीहरुबाट नै संकलन गर्न सक्ने बताएका छन् । उनले आइतबार माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका—४ को पार्टी कार्यालय उद्घाटनको क्रममा यस्तो बताएका हुन् ।
सांसद पुलामीले नेपाल सरकारले खाता खोलेर रकमको आह्वान गरेको खण्डमा नेपालीहरुले उक्त रकम स्वतः स्फूर्त रुपमा जम्मा गर्ने दाबी गरे । एमसिसीमार्फत आउने भनिएको ५५ अर्ब रकम ३ करोड जनताको टाउको गनेर भाग लगाउँदा १ हजार ८ सय मात्र तिर्दा पुग्ने रकममा जनभावना विपरितको कार्य सरकारले गर्न नहुने उनको तर्क छ । हरेक नेपालीमा राष्ट्रहितको लागि काम गर्ने राष्ट्रिय भावना रहेको बताउँदै उनले एमसिसी कुनैपनि हालतमा पास गर्न नहुने जनाए ।
पार्टी कार्यालय उद्घाटन गर्दै सांसद पुलामीले अब माओबादी केन्द्र ६४ सालमा नै फर्कने दाबी गरे । कार्यक्रममा माओबादी केन्द्र मकवानपुरका सल्लाहकार ऋषिराम पोखरेलले माआवादीले नै राष्ट्रियता जोगाउने स्पष्ट पारे । उनले हालसम्म भएका राष्ट्रघाती सन्धीहरुबाट पनि अन्य दलको धारणा बुझ्न सकिने बताए । कार्यक्रममा उक्त पार्टीका प्रदेश कमिटी सल्लाहकार कौषल पाण्डे, माओवादी केन्द्र मकवानपुरका सचिवालय सदस्य तथा प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन लगायतको उपस्थिति थियो ।