हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुरले शनिबार बनभोज कार्यक्रमको आयोजना गरेको छ । पत्रकारहरुलाई रिफ्रेसमेन्ट गराउँदै एकअर्काबीच सद्भाव बढाउने उद्देश्यका साथ हेटौंडाको पर्यटकीय क्षेत्र बनस्खण्डी मन्दिर परिसरमा बनभोज कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरका अध्यक्ष मुनु सिग्देल, राप्रपाका मधु अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरु राममणि दाहाल र भानुभक्त आचार्य, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्षहरु रुपेश दुलाल र सम्झना कार्की, महासचिव कृष्ण सारुमगर, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी, प्रेस सेन्टर मकवानपुरका अध्यक्ष अञ्जली थापा, महासंघका बागमती प्रदेश सदस्य सुदिप शिवाकोटी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइराला, नेकपा माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रचार विभाग प्रमुख कमान सिं पाख्रिन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष सरला अधिकारीले स्वागत मन्तव्य व्यक्त गरिन् ।
महासंघलाई सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सो अवसरमा प्रशंसा पत्र वितरण गरिएको थियो । महासंघको एघारौं अधिवेशनलाई सफल पार्न अहम् भूमिका खेल्ने निर्वाचन समितिका प्रमुख ध्रुब प्रसाद अधिकारी, निर्वाचन समितिका सदस्यहरु ऋषि केबी र मधु आचार्यलाई प्रशंसा पत्र वितरण गरिएको थियो । साथै, महासंघलाई सहयोग गर्ने सहयोगी सहयोगी मन र सहयोगी मनका सञ्चालक केदार प्रसाद चौलागाईं र व्यवसायी महेन्द्र राउतलाई कदर पत्र वितरण गरिएको थियो । सहयोगीहरुलाई महासंघका अध्यक्ष मणिराज गौतमले कदर पत्र हस्तान्तरण गरे ।