हेटौंडाः पत्रकारितामा क्रियाशील रहँदै आएका मकवानपुरे लेखक होम कार्कीको सनैया बजारमा आएको छ । पत्रकारिता मार्फत प्रवासी नेपालीहरुका कथाव्यथा सञ्चारमाध्यममा ल्याउँदै आएका कार्कीको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको हो ।
पुस्तकको प्रकाशक किताब पब्लिसर्सले यस पुस्तकमा खाडी मुलुकमा सुन्दर जीवनको खोजी गर्न जाने नेपाली युवाहरुको कथा समेटिएको जनाएको छ । जुन दिन म अप्ठ्यारोमा परेका कामदारहरुलाई भेटेर फर्कन्थें, त्यो रात मेरो निद्रा भाग्थ्यो । फिटिक्कै निदाउन सक्दिनथें । ती झझल्कोहरुलाई ल्यापटपमा उतारेपछि मात्रै मलाई शान्ति मिल्थ्यो,’ लेखक कार्की भन्छन्, ‘यो किताब त्यसैको परिणाम हो ।’
पुस्तकमा वैदेशिक रोजगारीका नाममा चलिरहेको आप्रवासी मजदुरहरुको उत्पीडन र सङ्घर्षको चक्रलाई भिन्नभिन्न पात्र र भिन्न–भिन्न कथाका माध्यमबाट चित्रण गर्ने प्रयास गरिएको प्रकाशकले जनाएको छ । एक दशकदेखि वैदेशिक रोजगारीका बहुआयामिक पाटाहरुको रिपोर्टिङमा संलग्न कार्की कान्तिपुर दैनिकमा कार्यरत छन् ।
यस पुस्तक लेखनका लागि उनले खाडी क्षेत्रमा कार्यरत् ५ सय ४० जना नेपाली कामदारसँग कुराकानी र अन्तर्वार्ता गरेको प्रकाशकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । –इकान्तिपुरबाट