हेटौंडाः ६५औं प्रहरी दिवस–२०७७ को सन्दर्भमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजनामा बुधबार १५ वटा सार्वजनिक महत्वका धार्मिक स्थलहरुको सरसफाई गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका साथै मातहतका सबै कार्यालयहरुले आज धार्मिक स्थलहरुको सरसफाई गरेका हुन् ।


बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० वटै जिल्लाहरुमा आज बिहान ७ः३० बजे एकैसाथ सरसफाई कार्यक्रम भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए । सरसफाईको लागि प्रदेशका ३ सय ७० जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता गिरीले बताए ।

प्रहरी दिवसको अवसरमा आयोजना गरिएको धार्मिक स्थलको सरसफाई गर्ने कार्यक्रम अन्तर्गत बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, प्रहरी बरिष्ठ उपरीक्ष सुदिप गिरी, प्रहरी निरीक्षक रोशन थापा सहितको ४० जना प्रहरी कर्मचारीको टोलीले हेटौंडा उप महानगरपालिका १० स्थित गोरक्षश्वर मन्दिरको सरसफाई गरेको थियो । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले बिहिबार बृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्लाहरुमा समेत बिहिबार बिहान ७ः३० बजे सार्वजनिक महत्वका स्थलहरुमा बृक्षारोपण गरिने योजना रहेको प्रवक्ता गिरीले जानकारी दिए ।