हेटौंडाः ६५औं प्रहरी दिवसको अवसरमा आज हेटौंडामा रक्तदान कार्यक्रम गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हेटौंडासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण हेटौंडामा कार्यरत ५५ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

नेपाल प्रहरी स्थापनाको अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, प्रदेश प्रहरी श्रीमती संघबाट हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण लगायतका कार्यक्रम संचालन गर्ने तय भएको जनाइएको छ । असोज ३० गते ‘६५औं प्रहरी दिवस २०७७’ मनाईने छ ।