हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि र पशुपालन तर्फ रोजगारमुखी तथा आत्मनिर्भर बजेट निर्माण गर्ने तयारी गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरले सोमबार सो क्षेत्रमा गरेको अनुगमनका क्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले यस गाउँपालिकामा बिशेष गरी कृषि र पशुपालनमा आत्मनिर्भर हुने बजेट निर्माणको तयारी गरेको बताएका हुन् ।

गाउँपालिकाको समग्र योजना, विकास निर्माण, सुशासन लगायतका क्षेत्रमा भए गरेका कामका विषयमा भएको अनुगमनका क्रममा गाउँपालिकाले कृषिमा विशेष जोड दिने अध्यक्ष घलानले जानकारी दिए । उनले आगामी वर्ष भौतिक पुर्वाधार निर्माणलाई दोस्रो प्राथमिकतामा राखेर विदेशबाट फर्किएकाहरुलाई गाउँमै रोजगारी सृजना गर्न सक्ने खालका योजना निर्माण गर्ने बताए । सो क्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बागमती गाउँपालिका आफैमा बिकट गाउँपालिका भएकाले जनचेतना बृद्धिसँगै विगतका अनुभव र अहिलेको कोरोना महामारीलाई ध्यानमा राखेर बजेट निर्माण गर्न सुझाव दिए ।

रोजगारीको समस्या समाधान हुने किसिमको नीति कार्यक्रम तथा बजेट निर्माणमा जोड दिन खुलालले आग्रह गरे । यसका साथै प्रमुख खुलालले सामाजिक क्षेत्रमा बालमैत्री, महिला मैत्री, अपाङ्ग मैत्री लगायतका क्षेत्रमा ध्यान दिँदै स्वास्थ्य शिक्षा लगायतका क्षेत्रमा समेत ध्यान दिन प्रमुख खुलालको सुझाव थियो ।

सहयोगापेक्षी सडक मानव मुक्त व्यवस्थापन, स्थानीय तह सहिद स्मृति राष्ट्रिय फुटबल लगायतका क्षेत्रमा बजेटको व्यवस्था गर्न तथा गाउँपालिकाको राजस्व बृद्धिका लागि ढुंगा गिट्टी बालुवाको व्यवस्थापनमा ध्यान दिन पनि प्रमुख खुलालले सुझाव दिए । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको संयोजकत्वमा भएको अनुगमनमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका उपाध्यक्ष धनमाया स्याङ्तान, जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, सदस्य देवराज रिमाल, शाखा अधिकृत भीमलाल मर्जजन, नायव सुब्बा उपेन्द्रनाथ पोखरेल लागयतको सहभागिता थियो । सो क्रममा गाउँपालिकाबाट भएका कामका बारेमा शाखागत रुपमा भएका गतिबिधिबारे जानकारी गराइएको थियो ।