हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका अन्तर्गत बेतिनी स्वास्थ्य चौकीमा ३ महिनाभित्र ३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आईपास नेपालको सहयोग तथा ओचिण्ड मकवानपुरको आयोजनामा गरिएको सर्वेक्षणमा बैशाख १५ गतेदेखि असार ४ गतेभित्रमा ३ जनाले सेवा लिएको बेतिनी स्वास्थ्य चौकीका स्वास्थ्य ईन्चार्ज लक्ष्मण शाहले जानकारी दिए ।

बेतिनी स्वास्थ्य चौकीमा मकवानपुरको मात्र नभई सिन्धुली, ललितपुर र काभ्रेका महिलाहरुले समेत सेवा लिने बारेमा चासो देखाएको ईञ्चार्ज शाहले बताए । बेतिनी स्वास्थ्य चौकी सुरक्षित गर्भपतन सेवाको इजाजत प्राप्त सूचिकृत मकवानपुरको १० वटा स्वास्थ्य संस्थाहरु मध्येको एक हो । सर्वेक्षणका क्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुरका उपाध्यक्ष भगवती पुडासैनीले मन नहुँदा नहुँदै पनि विभिन्न बाध्यताले अनिच्छित गर्भधारण गर्नुपरेको अवस्थामा विगतका दिनमा महिलाहरुले विकल्पको बाटो केही नदेखेर आत्माहत्या गर्ने, शिशुलाई जन्माएर मारिदिने लगायतका अपराधिक कार्यहरु गर्ने गरेको भन्दै अहिले सरकारले नै गाउँघरमा पनि स्वास्थ्य संस्थाहरुमार्फत सुरक्षित गर्भपतन गर्न पाउने सेवा प्रदान गरेका कारण यस्ता घटनाहरु कम भएको बताइन् ।

सर्वेक्षणमा बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, जिसस मकवानपुरका उपाध्यक्ष भगवती पुडासैनी, ओचिण्ड मकवानपुरका कार्यकारी अधिकृत उद्धव बानियाँ, बागमती गाउँपालिका ६ नम्बर वडा अध्यक्ष ध्रुव थापा, ओचिण्ड मकवानपुरकी कार्यक्रम संयोजक सुप्रिमा सापकोटा, बेतिनी स्वास्थ्य चौकी फापरबारीका स्वास्थ्य ईञ्चार्ज लक्ष्मण शाह लगायत स्वास्थ्य चौकीका अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।