हेटौंडाः बकैया गाउँपालिकामा हालै अर्को एउटा बालबिबाह रोकिएको छ । बकैया ३ का एक युवकसँग बिबाह गर्ने उद्देश्यले आएकी ललितपुरकी १७ वर्षीय किशोरीको बालबिबाह स्थानीय तहको निगरानी र पहलमा रोकिएको हो ।
उक्त किशोरी र काठमाडौंमा बस्दै आएका बकैया ३ का २१ वर्षीय युवक बिबाह गर्ने उद्देश्यले लकडाउन सुरु हुनुअघि बकैया ३ हात्तीसुँडेस्थित युवकको घरमा आएको बुझिएको छ । घटनाबारे वडामा जानकारी आएपछि उनीहरुले कानून बिपरित बाल विवाह गरेको पाइएकोले उनीहरूलाई बुधबार प्रहरी, अभिभावक, जनप्रतिनिधि र सिविनका प्रतिनिधिको रोहवरमा अलग गरिएको सिविन बाल हेल्पलाइनका झविन्द्र ज्ञवालीले जानकारी दिए ।
छलफलमा सोही वडाका वडाध्यक्ष दिल बहादुर भोम्जन, बकैया गाउँपालिका स्वास्थ्य शाखाका फटिकरमण प्याकुरेल, गाउँपालिकाका महिला विकास शाखाकी कविता भट्ट, हात्तीसुँडे प्रहरी चौकीका असई कृष्णराज गौतम, वडा सचिव पवित्रा लामिछाने, सिविनका झविन्द्र ज्ञवाली, युवकका अभिभावक (आमा) र उनीहरु दुईजना उपस्थित थिए ।
आफूहरुको निर्णय कानून विपरित रहेकोबारे प्रहरी, अभिभावक, जनप्रतिनिधि र संस्थाका प्रतिनिधिले बाट जानकारी पाएपछि सरोकारवालाहरुले सम्झाईबुझाई गरेसँगै उनीहरु अलग रहन राजी भएका हुन् । युवकको घरबाट उद्दार गरी उक्त किशोरीलाई मनोसामाजिक परामर्शको लागि सिविन बाल हेल्पलाइनमा पठाइएको छ ।
बाबुले अर्कै विवाह गरी गएपछि एकमात्र अभिभावक आमाको सहारामा हुर्किएका उक्त युवक हात्तीसुँडेस्थित बुद्ध माविमा कक्षा ८ सम्म पढेर पढाई छाडेका थिए । कामको शिलशिलामा काठमाडौंमा सवारी चालक बन्ने सपना लिएर उनी गाडी लाइनमा हिँड्ने गरेको बताउँछन् । उता, किशोरीको बाबुको निधन भएपछि आमा अर्कैसँग विवाह गरी गएको र उनी आफ्नो हजुरआमाको साथमा बस्दै कक्षा १० अध्ययन गर्दै थिइन् ।
सामाजिक संजाल फेसबुकमा कुराकानी हुन थालेपछि उनीहरु प्रेम सम्बन्धमा बाँधिएका थिए । बाल विवाह हुनेमध्ये धेरै किशोरीहरु यसरी सामाजिक सञ्जालबाट प्रेम सम्बन्ध स्थापित भएर विवाहको निर्णयसम्म पुग्ने गरेको पाइएको सिविनका झविन्द्र ज्ञवालीले बताए । उनी भन्छन्, ”त्यसरी प्रेम सम्बन्ध स्थापित भइ बिबाह गरेर कतिपय केटीहरू त केही छोड्ने मनस्थितिमा पुगिसकेका हुन्छन् ।” अघिकांश घटनामा बालबिबाह छुटाउन खोज्दा निकै गाह्रो भएपनि कुनै कुनैमा खुशीसाथ उनीहरु छुट्टीएको ज्ञवालीको अनुभव छ ।
जानकारीमा आएका धेरै केशहरु मिलाएर, सम्झाई बुझाई पठाउने गरिएको हात्तीसुँडे प्रहरी चौकीका असई कृष्णराज गौतम बताउँछन् । उनी भन्छन्, ”यसरी आएका सबैको मुद्दा दर्ता हुने हो भने एउटा वडाकै ४०/५० वटा मुद्दा हुन्छन् ।”