हेटौंडाः मकवानपुर जिल्लामा लकडाउन अवधिमा १५ वटा बालविवाह रोकिएको छ । सिविन बाल हेल्पलाइनका अनुसार लकडाउन अवधिमा हेटौंडामा ६ वटा, बकैयामा ३, मकवानपुरगढीमा ३, मनहरीमा २ र भीमफेदीमा १ गरी १५ वटा बालविवाह रोकिएको हो ।
उल्लेखित तथ्याङ्क लकडाउन अवधिको मात्रै हो । नेपालमा गत चैत्र ११ गतेदेखि सुरु भएको लकडाउन हालसम्म जारी नै छ । स्थानीय तहका प्रमुख, सम्बन्धित क्षेत्रका प्रहरी प्रमुख र अधिकारकर्मीहरुको पहलमा बालबिवाह हुन लागेको केटा र केटी दुबै परिवारलाई सम्झाई बुझाई बिवाह रोक्न सफल भएको सिविन बाल हेल्पलाइनकी कार्यक्रम अधिकृत सम्झना अधिकारीले जानकारी दिइन् ।
उनका अनुसार मकवानपुरमा पछिल्लो ५ महिनाको अवधिमा ५० वटा बालबिवाहका घटना रोकिएको छ । बालबिबाह हुन लागी रोकिएकोमध्ये १४ किशोर र ३६ किशोरीको रहेका छन् । पछिल्लो मकवानपुरको बकैया गाउँपालिकामा १६, हेटौंडामा १०, भीमफेदीमा १०, मकवानपुरगढीमा ६, राक्सिराङमा ३, मनहरीमा २, कैलाशमा २ र बागमती र इन्द्रसरोवर गाउँपालिकामा एक/एक वटा बालविवाह रोकिएको बाल हेल्पलाइनको तथ्यांक छ ।
२० वर्षभन्दा कम उमेरमा हुने बिवाहलाई बाल विवाहको रुपमा लिई बालबिवाह गर्ने, गराउने दुबै पक्षलाई कारबाही हुने व्यवस्था छ ।