हेटौंडाः कोरोनाको त्रासबीच अग्रपंतिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जिल्लाका १ सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना बिमा गरिदिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा उक्त विमा गरिएको हो । मंगलबार एक कार्यक्रमबीच उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईलाई बिमा पोलेसीको पत्र हस्तान्तरण गरे । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, महासंघ मकवानपुरका सहसचिव धर्मेन्द्र दाहाल, कोषाध्यक्ष सुदीप शिवाकोटी लगायतको सहभागी थिए ।
कार्यक्रममा मेयर महतले पत्रकारका लागि संस्थागत रुपमा जुनसुकै सहयोग पनि गर्न तयार रहेको बताए । कोरोना भाइरस (कोभिड १९)को त्रासका बीच पनि अग्रपंत्तिमा खटिएका पत्रकारको एक लाखको कोरोना विमा र दुई लाख रुपैयाँका दरले दुर्घटना विमा गरिएको हो । कोरोना विमा गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखालाई उपमहानगर कार्यपालिकाको बैठकले निर्णय गरेर एक लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो । दुई महिना अगाडी देखिको कोरोना त्रासका कारण सरकारले गरेको लक डाउनको समयमा पनि त्रास बेहोर्दै अग्रपंत्तिमा खटिएका एक सय ६३ जना पत्रकारको कोरोना र दुर्घटना विमा गरिएको नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले जानकारी दिए ।
पत्रकार महासंघ मकवानपुरमा सदस्य रहेका एक सय ३ जना र नयाँ सदस्यताका लागि सिफारिस गरिएका ६० जना पत्रकारको विमा गरिएको अध्यक्ष हुमागाईले बताए । एक जना पत्रकारको तीन लाख रुपैयाँका दरले विमा गरिएको हो । विमा गरिएका पत्रकारको कोरोना भाइरस पुष्टी भएमा एक लाख रुपैयाँ र दुर्घटनामा परेर कुनै पत्रकार घाइते भएमा २० हजार रुपैयाँसम्म उपचार खर्च र मृत्यु भएमा दुइलाख रुपैयाँ प्राप्त गर्ने बिमा कम्पनीले जनाएको छ ।
हेटौंडाको एभ्रेष्ट ईन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत विमा गरिएको हो । कोरोना भाइसको त्रासबीच स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सँगै सञ्चारकर्मी पनि निरन्तर अग्रपंतिमा खटिएकाले कोरोना र दुर्घटना विमा गर्नका लागि सहयोग गरिएको मेयर महतले बताए । अहिलेको समयमा मिडिया हाउस र पत्रकार पनि संकटमा परेको समयमा स्थानीय सरकारले सहयोग गरेको मेयर महतको भनाई छ । यसअघि पनि हेटौंडा उपमहानगरपालिकाले केही महिना अगाडी पत्रकार महासंघ मकवानपुरले स्थापना गरेको उपचार कोषमा चार लाख रुपैयाँ सहयोग गरेको छ । गत आर्थिक वर्षमा उपमहानगरपालिकाले महासंघको कार्यालयमा पुस्तकालय निर्माण गर्नका लागि सहयोग गरेको थियो ।
कोरोनाको त्रासबीच पनि अग्रपंतिमा रहेका पत्रकारका लागि पत्रकार महासंघ मकवानपुर शाखाले स्वास्थ्य सुरक्षाका सामाग्री, संचार संस्थालाई प्रेस ज्याकेट, लकडाउनका कारण समस्यामा परेका पत्रकारका लागि खाद्यान्न जस्ता आवश्यक सामाग्री वितरण गर्दै आएको छ ।