हेटौंडाः विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस नियन्त्रण तथा प्रतिकार्यमा जुटिरहेको स्थानीय सरकारलाई यसबीचमा गर्न सकिने र गर्नुपर्ने महत्वपूर्ण सुझावसहित नागरिक समाज मञ्च मकवानपुरले ध्यानाकर्षण गराएको छ ।
जिल्ला समन्वय समिति मकवानपुर मार्फत मञ्चले जिल्लाका सबै (१० वटै) स्थानीय तहहरुलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । मञ्चका संयोजक रमिला सापकोटाद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा हालको विषम परिस्थितिमा स्थानीय सरकारले सिमित स्रोत साधनका बीच गरेका कामहरुको सरहना गर्दै यस्ता प्रयासलाई अझ बढाउन अनुरोध गरिएको छ ।
‘कोरोना महामारीको अवसर छोपी बजारमा बस्तु तथा सेवा प्रवाहमा अवरोध श्रृजना हुने, अपार भाउ वृद्धि गर्ने, अत्यावश्यक वस्तु र सेवा नदिने अवस्था श्रृजना हुने भएकाले बजार अनुगमन प्रकृयालाई नियमित गर्न अनुरोध गर्दछौँ’, ध्यानाकर्षण पत्रमा भनिएको छ । साथै, स्थानीय किसानले उत्पादन गरेका फलफुल तरकारी तथा खाद्य वस्तुलाई सहज रुपमा बजारमा बिक्री वितरण गर्न पाउने वातावरण सृजना गर्न र साना किसानलाई वस्तु उत्पादन र बजारीकरण गर्ने वातावरण मिलाउन पनि स्थानीय सरकारसँग अनुरोध गरिएको छ ।
कोरोनाको संक्रमणको कारण नागरिकले पाउनुपर्ने अन्य स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाको अधिकारलाई बन्द गर्ने, ढिलाई गर्ने कुरालाई अन्त्य गर्दै सबैखाले स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षाको वातावरण सहज तुल्याउन मञ्चको सुझाव छ ।
स्थानीय सरकारको आर्थिक बर्ष २०७७/७८ को नीति कार्यक्रम, बजेट योजना तर्जुमा प्रकृयालाई तत्काल शुरु गरी समयमै बजेट सार्वजाजिक गर्न मञ्चले अनुरोध गरेको छ । बजेट तर्जुमा प्रकृयालाई समावेशी, सहभागितामूलक र पारदर्शी बनाउन पनि मञ्चले सुझाव दिएको छ । बजेट तर्जुमा गर्दा वर्तमान परिस्थितिको आँकलन, कृषि, स्वास्थ्य, शिक्षा र विपद् व्यवस्थापनलाई उच्च प्राथमिकता दिन मञ्चको आग्रह छ ।
स्थानीय सरकारले राहत वितरण गर्दा पारदर्शी बनाउन र विपन्न वर्गसम्म पुर्याइनु पर्ने मञ्चको सुझाव छ । मञ्चले कोरोना विरुद्धको प्रतिकार्य अभियानमा नागरिक, नागरिक समाजका संघ संस्था एवम् निजी क्षेत्रको संलग्नता बढाउन सरकारको तर्फबाट आवश्यक समन्वय, सहकार्यको वातावरण तयार पार्न समेत अनुरोध गरेको छ ।