राहुल गुप्ता/बीरगञ्जः पर्सा जिल्ला जिराभवानी गाऊँपालिक वार्ड नम्बर ५ को शंकर सरैयामा बसोबास गर्दै आइरहेका सुक्कुमबासी, बिपन्न गरिब मुसहर (माझी), चमार तथा पासवान ७५ घर परिवारलाई राहत वितरण गरिएको छ ।
आज लकडाउनको ७०दिन बितिसक्दा पनि तीन तहका सरकारमध्ये कुनै पनि सरकारको उपस्थिति नदेखिएको अवस्थामा सोमबार दया फाउन्डेशन र भीसीएन नामक संस्थाले राहत वितरण गरेको हो । उनीहरूको अवस्था अहिले त्राहिमाम छ । बिपन्न, ग़रीब, सुकुम्बासी घर परिवारहरुलाई एनआरएनका अरुण कुमार ठाकुर, बिरगंज लक्ष्मणवाको सहयोगी युवा हरीनारायण शाह तथा दया फाउण्डेशन र भीसीएन संस्थाको आर्थिक सहयोगमा राहत वितरण गरिएको हो । कार्यक्रमलाई सामाजिक अभियन्ता प्रकाश थारूले संयोजन गरेका थिए । स्थानीय युवाहरु संजय चौधारी, महेश दहैत, बिनोद राउत लगायतको सहयोगमा राहत सामग्री बितरण गरिएको हो ।
ज्याला मजदूरी मात्रै गरेर आफ्नो घर परिवारको २ छाकको व्यवस्था गर्ने गरेकोमा हाल कोरोना महामारीको कारण निषेधाज्ञा तथा लकडाउनको समयमा चाहेर पनि ज्याला मजदुरी गर्न सकिरहेको छैनन् । यो समुदायमा आजसम्म कसैले राहतको नाममा एक चम्चा नून समेत वितरण गरेको छैन । त्यसैले गर्दा अब कोरोना भन्दा पनि भोकमरीको चपेटामा पर्ने देखिएकोले त्यहाँ राहतको व्यवस्था गरेर वितरण गरेको भीसीएनको अध्यक्ष दीपक चापागाईं तथा उपाध्यक्ष राधा मतांगीले बताए ।
उक्त गाऊँपालिकको वडा नं. ५ को हरैया, सखुवनीयाको विपन्न बर्गका मानिसहरुलाई अझसम्म पनि राहत वितरण नहुँदा जीवनयापनमा कठिनाई भएको छ । उक्त समुदायमा चामल (१५ केजी, दाल १ केजी, खानेतेल ५०० ग्राम, आलु २ केजी, प्याज १ केजी, नुन १ केजी र साबुन २ थान वितरण गरिएको समाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।