आशुतोष झा (नवीन)/विश्वभरीको राष्ट्रहरुले कोरोना (कोभिड-१९) भाइरससँग कडा संघर्ष गरिरहेका छन् । यो सर्वविदितै छ । नेपाल छाडेर अन्य सबै देशहरुले आफ्नो नागरिकलाई बचाउन कुनै पनि राजनीति दाउपेच नराखी अहिले कोरोना सम्बन्धी नै तमाम योजनाबद्ध रूपमा कार्यहरु गरिरहेका छन् ।
महामारीको यस्तो सन्त्रासको बेला सबै राष्ट्रले पहिलो प्राथमिकतामा नागरिकको स्वास्थ्यलाई राखेको छन् । तर, दुर्भाग्यको कुरा तीन करोड जनसंख्या भएको हाम्रो नेपालमा सत्तामा बस्नेहरूले आफ्नो नागरिकको स्वास्थ्य भन्दा बढी आआफ्नो धमिलो राजनीतिलाई पहिलो प्राथमिकतामा राखेको छन् ।उनीहरूले अहिले सँधैं सचिवालयमा वृहत् बैठक डाकिरहेको छन् । सांसद भागबण्डाको खेलमा रमाइरहेका हुन्छन् । सधैं निष्कर्षविहीन भएर बैठकबाट निस्केर फेरि आआफ्नो महलतिर फर्किने गर्छन् । यो सबै बैठकमा कोरोना संक्रमणसँग कसरी जित्न सकिन्छ र नागरिकको स्वास्थ्य बारेमा कहिले पनि चर्चा हुँदैनन् । प्रधानमन्त्रीले दिएको बयान छिन् छिनमा बदलिरहन्छन् ।
जतिबेला देशमा कोरोना संक्रमणको संख्या एकदर्जनमा भन्दा पनि मुनि थियो, त्योबेला देशमा कोरोनाले केही प्रभाव पार्ने छैन भनी हाम्रो प्रधानमन्त्री ज्युले आम जनतासँग कुरा राख्दै हुनुहुन्थ्यो । तर, जब कोरोना संक्रमितको संख्याले सेन्चुरी पार गर्न थाल्यो अनि बल्ल प्रधानमन्त्री ज्युले भन्न थाल्नुभो यो देशमा कोरोना भाईरसले भयावह स्थिति ल्याउन सक्छ । यस्तो अवस्था छ हाम्रो देशमा । बैशाख २५ गते ४ बजे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको रिपोर्ट अनुसार अहिलेसम्म पिसिआर विधिबाट १४,५०९ र आरडिटी विधीबाट ५४,०९३ वटा परीक्षण भैसकेको अवस्था छ। यसैगरी प्रदेश न.२ मा अहिलेसम्म आरडिटी विधिबाट ५,३४८ जनाको मात्र परीक्षण भएको छ। कोभिड १९ को हट्स्पटको रूपमा अहिले बिरगंज, उदयपुर र नेपालगन्ज हो। तरपनि सरकारले अन्यत्र भन्दा यी रेड्जोनमा रहेको ठाउँहरुमा पनि जाँचको क्षमता बढाईरहेको छैन । नेपालको अहिलेसम्म पिसिआर विधिबाट चेक भएको संख्यालाई हेर्दा र सरकारको परीक्षण क्षमतामा ढिलासुस्ती हेर्दा लाग्छ विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भने अनुसार कोरोना संक्रमण थाहा पाउन र यसबाट जित्न बढी भन्दा बढी टेस्ट गर्नु नै एउटा उपाय हो। तर, नेपालमा टेस्ट प्रक्रियाको ढिलासुस्तीलाई हेर्दा लाग्छ कुल जनसंख्या ३ करोडलाई परीक्षण गर्न वर्षौंसम्म लाग्न सक्छ ।
यता बीरगन्ज र नेपालगन्जमा त्यहाँको स्थानीय सरकार एवं जनताले परीक्षण दर बढाउन पटकपटक सरकारलाई अनुरोध गरिरहेका छन् । तर, सरकारको यसप्रति गम्भीर चासो देखिन्न । भाषणमा मात्रै सिमित छन्, अहिलेको सरकार । बिरगंज वार्ड न १, २ र ३ अति नै संवेदनशील क्षेत्र भएकोले उक्त क्षेत्रमा अविलम्ब परीक्षण क्षमता बढाउन अति आवश्यक भैसकेको छ। सरकारसँग एउटा मात्र अनुरोध अहिलेको समय र परिस्थितिसँग नमिल्दो अनावश्यक राजनीतिक नौटंकी छोडेर कोरोना महामारीबाट देश बचाउनु छ भने तत्काल यो कार्य गरियोस् । -(लेखक नेपाल विद्यार्थी संघ प्रदेश २ का नेता एवम् राजनीतिशास्त्रको विद्यार्थी हुन् ।)