हेटौंडा: बागमती प्रदेशको प्रदेश सभा बैठक जेठको पहिलो हप्तासम्म बोलाउने तयारी भइरहेको सभामुख सानुकुमार श्रेष्ठले बताएका छन् । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठबीच आइतबार भएको भेटमा सभामुख श्रेष्ठले मुख्यमन्त्रीलाई यसबारे जानकारी गराएका हुन् ।

बजेट ल्याउने समय भएकोले अब भौतिक दुरी कायम गरेर प्रदेश सभा बैठक संचालन गर्नेबारे भेटमा छलफल भएको थियो । नीति तथा कार्यक्रम र बजेट ल्याउने विषयमा प्रदेश सरकारको छलफल केन्द्रित रहेका बेला सभामुख र मुख्यमन्त्रीबीच भेट भएको हो । भेटमा संसद बैठक बोलाउने विषयमा छलफल हुँदा जेठको पहिलो हप्तासम्म प्रदेश सभा बैठक बोलाउने तयारी भइरहेको सभामुख श्रेष्ठले जानकारी गराएका हुन् ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिम कम गरी प्रदेश सभा सदस्यहरुलाई बस्ने व्यवस्था मिलाइने सभामुख श्रेष्ठले जानकारी गराए । प्रदेशको बजेट ल्याउने समय भएकोले संसद बोलाउने तयारी स्वरुप छलफल केन्द्रित थियो । प्रदेश सभा भवन निरीक्षणको शिलशिलामा मुख्यमन्त्री पौडेल प्रदेशको राजधानी हेटौंडा–१० स्थित प्रदेश सभा भवनमा पुगेका हुन् । उनले त्यहाँ सभा संचालनका लागि भवनको अवलोकनका साथै सभामुख श्रेष्ठसँग छलफल गरे ।

मुख्यमन्त्री पौडेलसँग आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँल, प्रमुख सचिव तोयम राया, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया लगायत प्रदेश सभा भवन निरीक्षणमा पुगेका थिए । –शुभलक्ष्मी विश्वकर्मा/अन्नपूर्ण पोस्ट्बाट