बुटवलः प्रजातन्त्रवादी इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) प्रदेश ५ ले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट बच्न र बचाउन सहयोग गर्ने उद्देश्यले अत्यावश्यक, महत्वपूर्ण, विश्वसनीय र गुणस्तरीय कोरोना परिक्षण नमुना संकलन बुथ, पिपिई, स्यानिटाईजर टनेल लगायतका सामाग्रीहरु निर्माण गरिरहेको केन्द्रलाई एकलाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

महाविर पुनद्वारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई सिडेनमा इन्जिनियरहरुबाट संकलित रकम पठाईएको सिडेन प्रदेश ५ का सहसचिव अर्जुन गिरीले बताए । उनका अनुसार संचालक वैज्ञानिक महाविर पुनले इन्जिनियर समुहलाई धन्यवाद दिए ।

स्थानीय स्तरका इन्जिनियरहरु कोरोना बुथ तथा स्यानिटाईजर टनेल बनाउन आफै सक्षम भएता पनि सामग्रीको गुणस्तर, विश्व स्वास्थ्य संगठनको मान्यतालाई मध्यनजर गर्दै पवित्र उदेश्य बोकेको राष्ट्रप्रेमी वैज्ञानिक महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई प्रोत्साहनका लागि सहयोग गरिएको गिरीले बताए ।