हेटौंडाः बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक र कृषि बिकास बैंकले सहयोग गरेका छन् । बुधबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष बैंकका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कुमारी बैंक हेटौंडा शाखा प्रमुख कृष्ण प्रसाद शर्माको टोलीले १० लाख सहयोग रकमको चेक हस्तान्तरण गरे । त्यस्तै, कृषि बिकास बैंकका तर्फबाट प्रदेश कार्यालयका निर्देशक जगदिश्वर पन्थीको टोलीले ५ लाख सहयोग रकमको चेक हस्तान्तरण गरे ।

यसअघि सिद्दार्थ बैंकले १० लाख, सिटिजन्स बैंकले ७ लाख र नेपाल बैंकले ५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका थिए । यस्तै, गोर्खा लाहरीले १० लाख तथा खानेपानी व्यवस्थापन बोर्ड्ले ३ लाख रुपैयाँ सहयोग गरेका छन् । विभिन्न क्षेत्रको सहयोग आउने क्रम जारी रहेको भन्दै मुख्यमन्त्री पौडेलले सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।