आरती भण्डारी/ काईला दाईको चुलो बलेन रे,
साईंली दिदिको पनि त्यस्तै दशा छ रे,
हेर त साथी विश्व दुखिरहेको छ,
मानिसहरु मरिरहेका छन्,
कोभिड १९ को सिकार बनिरहेका छन्,
सबै देशका सरकार अआफ्ना देशबासीको सुरक्षा गर्न,
संकट कम गर्न लागिपरेकै छन्,
यस्तैमा हाम्रो मुलुक नेपाल
देशबासीलाई घरभित्रै बस्न आह्वान गरेको छ,
हुनेखाने पुँजीपति वर्ग त
सन्चित अन्न बालीले बाँच्लान्
तर,
दिनभरी श्रम गरेर बेलुका खाने,
ज्यालादारी गर्न पुँजीपतिकोमा जाने,
साँच्चिकै हुँदा खानेहरु के गर्लान ?
कत्तिलाई त महामारी भन्ने नै थाहा छैन,
लकडाउनमा पनि निर्बाध डुलिरहनेहरु,
१० रुपैयाँको मास्क किन्न नसक्नेहरु,
सेनिटाईजर सुन्दै नसुनेकाहरु के गर्लान् ?
हामी आफुलाई मुलुकका सचेत नागरिक भन्छौं,
बर्गीय बिचारधारा पछ्याउँदै हिँड्न चाहन्छौं,
तरपनि महामारीको सिकार हुँदा खाने नै बन्छन्,
महामारी बाजा बजाएर आउँदैन,
भाईरसहरु उत्पादन भैरहन्छन्,
त्यसैमध्ये कोरोना भाईरस ,
आतंककारी बनेर आएको छ,
न कुनै बार्ताबाट रोकिन्छ ।
न कुनै बिबिध बुँदे सम्झौताबाट,
सरकारले तैयारी नगरेको होईन,
जहाँ छौं त्यही बस भनेकै छ,
हामी सबै बसेकै पनि छौं,
अन्न हुनेले घरमा जे छ
त्यही पकाएर खाएकै छन्,
बिचरा ती निमुखा श्रमजीविहरुको
हिजैदेखि चुल्होमा आगो बलेको छैन रे,
दिउँसो ज्याला मजदुरी गरिगरी
बेलुकी ३ किलो चामल किनेर ल्याउने साईंंला दाईको
काम पनि रोकियो रे माम पनि रोकियो रे,
बल्ल बल्ल ऋण खोजेर कुखुरा पालेकी सीता दिदिको
दाना नपाएर कुखुरा मर्दैछन् रे,
सरकारले नि के गर्न सक्नु छ र यो संकटमा,
विश्व नै आक्रान्त छ,
चारैतिर रुवाबासी छ,
बिचरा गरिबलाई
लकडाउन गरे खान नपाएर मर्नुपर्ने भयो,
लकडाउन नगरे रोग लाएर मर्नुपर्ने भयो । (कवि अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् ।)