हेटौंडा, फागुन ३०
वैदेशिक रोजगारीको लागि विदेशिएकाहरुले हराएका श्रीमति खोजिदिन अनुरोध गरेका उजुरीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खात लागेको छ । विदेशीएका श्रीमानका श्रीमति दोस्रो विवाह गरी हिँड्ने महिलाविरुद्ध जिल्ला प्रहरीमा चालू आर्थिक वर्षको फागुन २१ गतेसम्मको तथ्यांक हेर्दा २० ओटा उजुरी परेको छ ।

यस्तै पुर्वी क्षेत्र बकैया गाउँपालिकास्थित एक विद्यालयमा सुना (नाम परिवर्तन) पढाउँदै आएइरहेका थिए । उनको श्रीमान सन्तबहादुर (नाम परिवर्तन) वैदेशिक रोजगारीको लागि विदेशमा थियो । दुई बालबच्चाकी आमा सुनाले विद्यालयमा काम गर्दै घरपरिवारका हेरचाह गर्दै आईरहेको थियो । विदेशमा रहेका सन्तबहादुर नेपाल आउने खबर थियो । सन्तबहादुर नेपाल आउनु, सुना दोस्रो विवाह गरी जानु एकैपटक भयो । सुना एउटै विद्यालयमा काम गर्ने रमेश (नाम परिवर्तन) सँग दोस्रो विवाह गरी गए । रमेशको पनि दुई बालबच्चा छन् ।

रमेशसँग दोस्रो विवाह गरी जाँदा सुनाले श्रीमान सन्तबहादुरले विदेशमा कमाएर पठाएको पैसा पनि लगेको जिल्ला प्रहरी निवेदनमा उल्लेख छ । रमेशकी श्रीमती र सुनाका श्रीमान सन्तबहादुर दुवैले प्रहरीमा केही समयअघि जिल्ला प्रहरीमा निवेदन दिएका थिए । यो एउटा घटना प्रतिनिधि मात्रै हुन् । यस्तो प्रकृतिका घटनाको उजुरी प्रहरी जिल्ला कार्यालय मकवानपुरमा धेरै रहेको प्रहरी निरीक्षक सुरेश श्रेष्ठले बताए । केही महिलाहरु भने घरेलु हिंसा कै कारण घर छोडेर दोस्रो विवाह गर्न बाध्य भएको पाइएको छ ।