हेटौंडाः बागमती प्रदेश सरकारले मदन भण्डारी मार्ग (हेटौंडा–काठमाडौं छोटो सडक) अन्तर्गतको हेटौंडा–भीमफेदी कुलेखानी सडक फराकिलो पार्न सुरु गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय सरकारको राजधानी काठमाडौं जोड्ने सडकको स्तरोन्नती सहित चौडा पार्न लागिएको हो ।
भीमफेदीदेखि कुलेखानीसम्म १५ किलोमिटर सडकलाई २ वटा प्याकेज बनाई मर्मतको काम थालिएको छ । सो खण्ड निर्माणका लागि १७ करोड २४ लाख १९ हजार ५ सय २१ रुपैयाँमा सो निर्माण कम्पनीले ठेक्का पाएको जनाइएको छ । त्यसैगरी देउरालीबाट कुलेखानी सम्मको ६ किलोमिटर सडक खण्ड निर्माणका लागि १५ करोड ७० लाख ६६ हजार ६ सय ३८ रुपैयाँमा ठेक्का सम्झौता भएको छ ।
यी दुबै खण्ड निर्माणका लागि गत माघ १० गते ठेक्का काम सम्झौता गरेर निर्माण सुरु गरीएको हो । सडक स्तरोन्नतीको काम एक बर्षभीत्र सम्पन्न गर्नै गरी सम्झौता गरिएको भौतिक पूर्वाधार बिकास मन्त्रालयले जानकारी दिएको छ । दुबै खण्ड निर्माणका लागि अलग अलग निर्माण कम्पनीहरुले ठेक्का पाएका छन् । यो सडकको मोड सुधार गर्नुका साथै सडकलाई ६ मिटर चौडा र कालोपत्रे समेत हुने भौतिक पूर्वाधार बिकास मन्त्रालयका ईन्जिनियर नबिन सिंहले जानकारी दिए । सडक स्तरोन्नतीपछि प्रदेशका ८ जिल्लाहरुलाई राजधानी हेटौंडा आउन थप सहज हुने बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताए । हेटौंडाबाट काठमाडौं जान पृथ्बी राजमार्ग, त्रिभुवन राजपथ, कान्ति लोकपथ, हेटौंडा–कुलेखानी–सिस्नेरी–काठमाडौं सडक, हेटौंडा–कुलेखानी–फाखेल–काठमाडौं सडक, हेटौंडा–कुलेखानी–महालक्ष्मीखोला–काठमाडौं सडक, हेटौंडा–भीमफेदी–ईपा–काठमाडौं सडक लगायतका विकल्प छन् ।
पृथ्बी राजमार्ग स्तरीय भएपनि दुरीका हिसाबले टाढा रहेका कारण पनि यो सडक स्तरोन्नतीपछि यसले थप दुरी छोट्याउने मुख्यमन्त्री पौडेलले बताए । एकतर्फी सडकका रुपमा सञ्चालनमा रहेको यो सडक सुधारपछि धेरैको रोजाईमा यो सडक पर्ने भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयाँलको विश्वास छ । योजना सम्पन्न भएपछि दुई घण्टामै काठमाडौं–हेटौंडा आउजाउ गर्न सकिने मन्त्री फूयाँलले दावी गरे । यसलाई प्राथमिकतामा राखेर निर्माण सुरु गरिएपनि अन्य सडकहरुको समेत आगामी वर्षहरुमा स्तरोन्नती हुने मन्त्री फूयाँलले जानकारी दिए ।