हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता मावि प्राविधिक शिक्षालयको खेल मैदामा जारी तेस्रो बागमती गोल्डकपको फाइनमा हिमालयन शेर्पा क्लबसँग आज हुने खेलको विजेता भिड्नेछ । शुक्रबारको सेमिफाइनल खेलमा च्यासल युवा क्लब ललितपुरलाई २–१ गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा क्लब फाइनलमा प्रवेश गरेको थियो ।
हिमालयन शेर्पा क्लबसँग भोली हुने फाइनल खेलमा भिड्नका लागि आज शनिबार संकटा युवा क्लब काठमाडौं र जाउलाखेल युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ बागमती गाउँपालिका खेलकूद विकास समितिको आयोजना तथा बागमती गाउँपालिकाको मुख्य प्रायोजनमा सञ्चालन भएको राष्ट्रियस्तरको खेलमा दर्शकको भीड लागेको छ । गोल्डकपमा एकैसाथ प्याराफिट र खुल्ला स्थानमा बसेर ७ हजार दर्शकले खेल हेर्न सक्ने छन् । दैनिक ५० हजारभन्दा बढीको टिकट बिक्री गरिएको आयोजकले जनाएको छ ।
गोेल्डकपको विजेताले नगद ६ लाख रुपैयाँ तथा उपविजेतले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै, उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ । प्रत्येक खेलका म्यान अफ द म्याच हुने खेलाडीले ५ हजार नगद पाउनेछन् ।
पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो । बागमती गोल्डकपको फाईनल खेल भोली फागुन ११ गते हुने र दर्शकको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।