हेटौंडाः चालु आर्थिक वर्षको असार महिनासम्म बागमती प्रदेशको लोकसेवा आयोगले कर्मचारी भर्ना प्रक्रिया सुरु गर्ने भएको छ । प्रदेश र स्थानीय तहमा कर्मचारी अभावका कारण काम गर्न समस्या भइरहेको बेला आयोगले असार महिनासम्म पहिलो चरणमा कर्मचारी भर्ना गर्न लागेको जनाएको हो ।

आयोग प्रदेशमा तीन जना पदाधिकारी र तीन जना कर्मचारीका भरमा काम गरिँदै आएको छ । कर्मचारी अभाव तथा भवन अभावका कारण काम गर्न समस्या भएकोले आयोगले कर्मचारी भर्नाको कामलाई प्राथमिकताका साथ अगाडी बढाएको बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिए ।

प्रदेश र स्थानीय तहमा जुन पदमा धेरै कर्मचारी आवश्यक छ, त्यही पदमा पहिलो चरणमा कर्मचारी भर्ना गरिने अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘आवश्यकताका आधारमा कर्मचारी भर्ना गरेर काम गर्ने तयारीमा छौँ । धेरैजसो समस्या बागमती प्रदेशका स्थानीय तहमा कर्मचारीको अभावका कारण देखिएको छ । त्यसैले पनि असार महिनासम्म कर्मचारी भर्ना गर्ने गरी काम थालेका छौं ।’