हेटौंडा, फागुन ८
मकवानपुरमा एक सातामै ८ जोडी बालबालिकाहरुको उच्च बालविवाहको जोखिममा रहेका बालविवाहको रोक लगाईएको छ । बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता र सिविन बालहेल्पलाईन मकवानपुरको पहल एव् सम्वन्धित स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा बालविवाह रोक्न सफल भएको हो । एक साता वित्दै गर्दा भीमफेदी गाउँपालिका मै ७ ओटा बालविवाहमा रोक लगाईएको छ । यसै गाउँपालिकाका अध्यक्ष हिदम लामाले बालविवाह न्युनिकरण नगरी बालमैत्री पालिका घोषणा गर्न नसकिले भएकाले सर्वप्रथम बालविवाहमा रोक लगाउन पालिकाको तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।
बालविवाह मुक्त प्रदेश सहजकर्ता पविना लामा, सिविन बालहेल्पलाईनका जिल्ला संयोजक झविन्द्र ज्ञवाली लगायतको सहभागीतामा बालविवाह रोक लगाउन पालिका मै बसिएको छलफलमा अध्यक्ष लामाले यस्तो बताएका हुन् । लामाले छलफलमा बालबालिकाको अभिभावकसंग बालविवाह विरुद्ध सरकारी नीतिको जानकारी गराएर बालबालिका र अभिभावकहरुलाई सचेत गराएका थिए । यसैगरी पालिका उपाध्यक्ष पार्वती रानाले बालविवाह सामाजिक विकृति हुन्, बालविवाह न्युनिकरणको लागि सबै पक्षहरुले साथ, सहयोग र समर्थन गरेर लागे पालिका भरी नै बालविवाह रोक्न सजिलै सम्भव हुने बताएका छन् ।
छलफलबाट बालविवाह बदर गरी बालकलाई परिवारको जिम्मा लगाइएको र बालिकाको अवस्था पहिचान गरी परिवारको सहमति तथा पालिकाको सिफरिसमा मनोसामाजिक मनोविमर्श सेवाको लागि सिविन बालहेल्पलाईनमा ल्याइएको बालहेप्लाईन संयोजक ज्ञवालीले बताए । अहिले भिमफेदी कै ५ बालिका बालहेल्पलाईनमा मनोसामाजिक मनोविमर्श सेवामा रहेको छ, ज्ञवालीले भने । धेरै बालबालिकाहरु प्रेममा परेर अभिभावकको जानकारी विना नै हिड्ने गरेकोले पनि बालविवाह रोकमा चुनौती आएको सहजकर्ता लामा बताउछन् ।
समाजमा छोरा र छोरी वीचको विभेदले गर्दा छोरीको अभिभावकलाई छोरी जिम्मा लिन समर्थन गराउन अर्को जटिल कारण बनेको पनि सहजकर्ता लामाले बताए । बालविवाहको उच्च जोखिमबाट उद्धार पछि मनोसामाजिक मनोविमर्श सेवाका लागि ल्याईएपश्चात बालिकाहरुमा बालविवाहको नकरात्मक असरहरुको जानकारी गराईने र उनीहरुको सोँचमा सकरात्मक परिवर्तन गराउन सहयोग गर्ने हेल्पलाईनका कार्यक्रम अधिकृत तथा मनोसामाजिक मनोविमर्शकर्ता सम्झना अधिकारीले जानकारी दिए । यस्तै गरी बकैया, गढी, कैलास गाउँपालिकाहरु र हेटौंडा उपमहानगरपलिका लगायतका बालविवाहमा रोक लगाई बालिकाहरु हेप्लाईनमा राखिएको छ ।
यी सबै स्थानीय तहका बालिकाहरु अहिले सिविन बालहेल्पलाईनमा मनोसामाजिक मनोविमर्श सेवा लिइरहेका छन् । मनोसामाजिक मनोविमर्श सेवा लिईरहेका भीमफेदीका १६ वर्षिया एक बालिकासंग कुराकानी गर्दा आफुले पढ्नु पर्ने र आफ्नो समाज र अभिभावकको जिम्मेवारी पुरा गर्नको लागि उर्जा मिलेको बताए । उनले बालक्लबमा बसेर बालविवाह विरुद्धको अभियान्ता बन्ने प्रेरणा मिलेको पनि बताए ।