हेटौंडाः मकवानपुर जिल्लाको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकास्थित जनता माविको खेल मैदानमा आजबाट बागमती गोल्डकपको तेस्रो संस्करण सुरु भएको छ । उद्घाटन खेलमा सर्लाहीको टिमलाई पराजित गर्दै आयोजक बागमती गाउँपालिका टिम विजयी भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकले सर्लाहीको बागमती नगरपालिकालाई १–० ले पराजित गरेको हो । खेल सुरु भएको १० मिनेटभित्रै बागमतीको लागि जर्सी नंबर १८ का बाबुराम माझीले गोल गरेका हुन् । उनको गोल नै आयोजकको लागि विजयी गोल बन्यो ।
प्रतियोगिता अन्तर्गत भोलि आइतबार डाँफे युवा क्लब र नव जागृति युवा क्लबबीच खेल हुने आयोजकले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा (बादल)ले गोल्डकपको उदघाटन गरेका थिए। ५ वटा ए डिभिजनका टिमसहित १० टिम सहभागी प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ नगद पुरस्कारसहित विधागत रुपमा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजक बागमती खेलकूद विकास समितिका अध्यक्ष अरुण बलले जानकारी दिए । स्थानीय खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकामा हरेक वर्ष गोल्डकप आयोजना गर्दै आएको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।