हेटौंडाः मकवानपुरमा जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिता फागुन दोस्रो साताबाट सुरु हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा हुने प्रतियोगिता हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा रहेको भलिवल कोर्टमा हुने भएको हो ।

फागुन ९ र १० गते सञ्चालन हुने भलिवल प्रतियोगिताबारे आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो । मदन भण्डारी स्पोर्टस एकेडेमी विद्यालय खेलकुद शिक्षक संघका अध्यक्ष राजाराम पोखरेलले प्रतियोगितामा जिल्लाका २५ वटा विद्यालयले सहभागिता रहने अनुमान गरिएको बताए ।

प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १० हजार र तृतीय हुने टिमले नगद ५ हजार रुपैयाँ बराबरको पुरस्कार पाउने जनाइएको छ । विद्यालय स्तरमा खेलाडी उत्पादन गर्ने योजनाका साथ कार्यक्रम सञ्चालन गर्दै आएको संघले प्रतियोगिताबाट त्यसलाई निरन्तरता दिन लागेको हो । प्रतियोगिताको अनुशाशित टिमलाई ३ हजार, विद्यागत उत्कृष्ट खेलाडीहरुलाई जनही ३ हजार नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ ।