- नानीमैया विष्ट / फागुन एक गते अहिलेको सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशभर २५औं जनयुद्ध दिवस विविध कार्यक्रम गरेर मनायो । केन्द्रीय नेताहरुदेखि प्रदेश र जिल्लाका नेताहरुले देशभर नै साना ठूला कार्यक्रमहरुको आयोजना गरेको देखियो । यस जनयुद्ध दिवसको अवसरमा एकले अर्कालाई शुभकामना दिइयो र लिइयो पनि । जनयुद्धको क्रममा सहिद भएकाहरुलाई गहिरोसँग सम्झिने काम पनि भयो । मुठी उठाएर श्रद्धाञ्जली मात्र व्यक्त गरिएन, दुईचार शब्द खर्च पनि गरियोे । सायद देशभर नै यसरी नै औपचारिक ढंगले यो दिवस मनाइयो ।
जनयुद्धपछि राष्ट्र र नागरिकको विषयमा युद्ध लडाउने र लड्नेहरुले के के सपनाहरु देखाइएको थियो र देखेका थिए । राज्यको शासन प्रणाली, जनताको जीवनव्यवहार समाजको विकृति–विसंगति मात्र होइन शिक्षा, स्वास्थ्य लगायत तमाम् क्षेत्रमा हुने भ्रष्टचार, कमिशनको अन्त्यसँगै आर्थिक उन्नती जनयुद्धपछि कल्पना गरिएको जस्तो हुनेछ भन्ने सपना एकाथरीले देखेका थिए । देखाउनेले पनि त्यसरी नै देखाएका थिए । ती सपना देखाउनेहरु कहाँ कहाँ र के के गर्दैछन्, सपना देख्नेहरु कतिपयको सम्झनामा आज दिवस नै मनाउनु परेको छ । सपना देखाउनेहरुले सपना देख्दा–देख्दै माटोमा मिल्नेहरुको गुनगान गाउँदै वर्षको एकपटक यहि जनयुद्ध दिवसको नाममा सम्झिने गर्छन् । अहिलेका यी अवस्था र व्यवस्था सपना देखाउनेहरुको हो कि सपना देख्नेहरुको हो प्रश्न गर्न मन लाग्या छ ।
अर्का एकाथरी सपना देख्दा देख्दै व्युझिएर झोक्रिरहेकाहरु पनि छन् । तिनीहरु कतिपय अहिले हातखुट्टा गुमाएर, शरीरमा गोलीका खोकाहरु लिएर बाँकी जीवन घिसारिरहेका छन् । कोही कोही त त्यहि लत्रिएको जीवन घिसार्दै खाडीका मुलुकहरुसम्म पुगेका छन् । सुनिन्छ, आफ्ना सन्तान र आफन्त गुमाएकाहरुलाई गौरव लाग्नुको साटो विस्तारै पछुतो लाग्न थाल्नु सपना बाड्नेहरुको निम्ति राम्रो होइन । भनिन्छ, युद्धको घाउँ निको हुन पुस्तौ लाग्छ रे । सायद हाम्रा वरपर भएका उनीहरुको घाउ निको हुन पनि समय त पक्कैपनि लाग्ने देखिन्छ । जीवन घिसार्दै समय कटाइरहेकाहरुलाई वर्षको एकपटक मन्तव्य सुन्न मात्र बोलाउने प्रचलन भन्दा उनीहरुको परिवार शान र मानले बस्ने र बाच्ने वातावरण बनाइदिए मात्र पनि सहिदहरुप्रति थोरै तर सच्चा श्रद्धाञ्जली हुने थियो कि ।