हेटौंडा:नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि पोखरेलले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता कुनै हालतमा पास गर्न नहुने बताएका छन् । हेटौंडामा बौद्धिक जमातलाई सम्बोधन गर्दै उनले संसदबाट पारित गर्ने प्रयत्न गरिएको एमसीसी सम्झौताबाट नेपालले सहयोग लिनुको कुनै औचित्य नभएको धारणा राखेका हुन् ।

अमेरिकी अधिकारीहरुले नेपालको संसद्बाट एमसीसी सँगको अनुदान सम्झौतालाई अनुमोदन गराउन कसरत गरिरहेका बेला सत्तारुढ दलका स्थायी समिति सदस्य रहेका पोखरेलले यसको बिरुद्धमा कडा अभिव्यक्ति दिएका हुन् । ‘देशलाई कुनैपनि हिसाबबाट फाइदा छैन, बिजुली बेचेर धनी हुन्छु भन्नु बेबकुफी मात्र हो’, पोखरेलले भने । ‘चाहे एक्लै किन नहोउँ, यसको बिरुद्धमा म जनताको बीचमा जानेछु, सडकमा जानेछु’, उनले भने ।

एमसीसी अनुदानको सहयोगबाट नेपालमा सडक बनाउने दुई पक्षीय सम्झौतामा अमेरिकीहरुको निहित स्वार्थ नदेखेका पोखरेलले विद्युतीकरणको योजनामा भने अमेरिकी सैन्य रणनीतिको गन्ध मिसिएको बताए । ४०० केभीको विद्युत प्रशारण विस्फोटक पदार्थ चार्ज गर्नका लागि हो भन्दै उनले एमसीसीलाई अनुदान भन्दा पनि अन्तर्राष्ट्रिय साम्राज्यवादी स्वार्थ पूरा गर्ने बल्छीको रुपमा चित्रण गरे ।
पूर्व सांसद एवं राजदुत हिरण्यलाल श्रेष्ठले इन्डो प्यासिफिक संस्थाबाट नै एमसीसी निर्देशित भएको बताए । उनले कुनैपनि हालतमा संसदबाट एमसीसी पास गर्न नहुनेमा जोड दिए ।

एमसीसीको पक्ष र विपक्षमा मत आइरहेका बेला यसबारे स्पष्ट हुनका लागि भन्दै बैद्धिक मञ्च मकवानपुरले एमसीसी सम्झौता र नेपालको पश्चिमी सीमा विषयक अन्तरक्रिया कार्यक्रम गरेको थियो । मञ्चका जिल्ला संयोजक विमल केशरी पौडेलको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य लिलामणि पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व सांसद एवम् पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ, बुद्धिजीवि तथा नागरिक अभियन्ता रघु घिमिरे लगायत वक्ताहरु रहेका थिए । कार्यक्रममा मञ्चका सदस्यहरु नवराज शर्मा, कौशल पाण्डे, ऋषिराम पोखरेल लगायत उपस्थित थिए ।