साधारणसभामा सम्बोधन गर्दै सांसद पुलामी

हेटौंडाः नगरको बजार विस्तार गर्ने क्रममा अबको सम्भावित क्षेत्र हटिया, हर्नामाडी रहेको भन्दै सांसदहरुले त्यस क्षेत्रमा खानेपानीको दीर्घकालीन स्रोत व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै संघीय सांसद कृष्णप्रसाद दाहाल र प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले त्यसका लागि सहयोग गर्ने वचन दिएका हुन् । सो क्षेत्रमा बजारीकरणसँगै पानीको मुहान सुक्दै जाने बढ्दो क्रमलाई समाधान गर्न ठाउँ–ठाउँमा पानी पोखरीहरु निर्माण गर्नुपर्नेमा सांसद दाहालले जोड दिएका छन् ।

‘पोखरी निर्माण गरी पानीको स्रोतहरुको दीर्घकालीन संरक्षण गर्नुपर्ने देखिन्छ’, सांसद दाहालले भने । त्यसका लागि सरकारी तवरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता सांसद दाहालले व्यक्त गरे । कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले पनि हटिया, हर्नामाडीमा खानेपानीको स्रोत व्यवस्थापन तथा दीर्घकालीन संरक्षणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष धर्मराज अर्यालको सभाध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रममा संघीय सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा बागमती प्रदेशका प्रदेश सांसद प्रेम बहादुर पुलामीको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा समितिका संस्थापक अध्यक्ष कमल बहादुर विष्ट, डिभिजन वन कार्यालय प्रमुख इमनाथ पौडेल, समितिका सल्लाहकारहरु बाबुराम भण्डारी, नवराज बिष्ट लगायतको आतिथ्यता रहेको अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव चुडामणी रुपाखेतीले जानकारी दिए । सचिव रुपाखेतीका अनुसार अंगारेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति हेटौंडा उपमहानगरपालिका– १६, १७ र १८ मा करिब एक हजार जना उपभोक्ता छन् ।