हेटौंडाः नेपालका केही भुभाग भारतले आफ्नो नक्साभित्र पारेको र अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौताबारे ध्यानाकर्षण सहित बौद्धिक मञ्च मकवानपुरले राष्ट्रिय स्वाधीनताप्रति सजग रहन आम जनसमुदायमा आग्रह गरेका छ ।
विवादास्पद एमसीसी र नक्सा प्रकरण अन्यौलमा रहेको बेला मञ्चले यसको विरोध गर्दै सो बारे आम नागरिकलाई जानकारी गराउन माघ २८ गते कार्यक्रम गर्न लागेको हो । लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन हुने उक्त विरोध कार्यक्रममा सहभागी हुन मञ्चले सबैमा आग्रह गरेको छ ।
मञ्चले जारी गरेको अपीलमा एमसीसी र नेपाल–भारत सीमा विवादको विषयमा सरकारले ठोस काम गर्न नसकेको उल्लेख गरिएको छ । एमसीसी सम्झौता संसदबाट पारित गराउने र देशलाई अहित हुन सक्ने सम्भावना औल्याउँदै अपीलमा भनिएको छ, ‘भारतले नेपालको भुभाग आफ्नो नक्साभित्र पारेको कदमप्रति विरोध जनाउँदै नेपाल सरकारलाई नेपालको अतिक्रमित भुभाग सहितको नक्सा जारी गर्न जोडदार माग गर्दछ ।’
साथै एमसीसी सम्झौताको हकमा पनि केही प्रावधानहरु नेपालको वर्तमान कानुनभन्दा माथि रहने, नेपालको आवश्यकतालाई सही रुपले सम्बोधन गर्न नसक्ने र नेपाल अन्तर्राष्ट्रिय सैनिक गठबन्धन वा सैन्य रणनीतिभित्र रहन सक्ने सम्भावना रहेकोले सो सम्झौताको विरोध गरिएको अपीलमा उल्लेख छ ।