हेटौंडाः फागुन १ गतेदेखि हुने बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७६ को तयारी तीव्र पारिएको छ । बागमती गोल्डकपको तेस्रो संस्करणको रुपमा सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन मिति नजिकिँदा तयारी तीब्र बनाइएको हो ।
मकवानपुरको बागमती गाउँपालिका–८ मा रहेको जनता उच्च माविको खेल मैदानमा हुने प्रतियोगिताको लागि खेलमैदान सजाउने काम धमाधम भईरहेको आयोजकले जनाएको छ । फागुन १० गतेसम्म हुने प्रतियोगितामा ए डिभिजनका ५ टिमसहित १० टिमको सहभागिता रहने गोल्डकप मूल आयोजक समितिका अध्यक्ष अरुण बलले जानकारी दिएका छन् । प्रतियोगिता विजेताले नगद ६ लाख रुपैयाँ र उपविजेताले नगद ३ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार र अन्य पाँच विद्यामा उत्कृष्ट हुनेले नगद १०÷१० हजार पुरस्कार पाउने बताइएको छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुनेले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको माध्यमबाट स्थानीय खेलाडी उत्पादन गर्ने लक्ष्य रहेको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले बताएका छन् ।