हेटौंडा, माघ २२
अधिकारकर्मी तथा नागरिक आन्दोलनका नेता कृष्ण पहाडीले आफ्नो शेषपछि खातामा रहेको रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण गर्ने घोषणा गरेका छन् । समाजको संस्थापक सभापति कृष्ण पहाडीले आफ्नो शेषपछि आफ्नो नाममा भएका बैँक खातामा रहने रकम मानव अधिकार तथा शान्ति समाजमा हस्तान्तरण हुने घोषणा गरेका हुन् ।
यसैगरी आफूले लेखेका पुस्तकहरुबाट प्राप्त हुने रोयल्टी लगायतका सम्पूर्ण रकम पनि शान्ति समाजको हुने घोषणा पहाडीले गरेका छन् । ५७ वर्षिय पहाडीका नेपाली, अंग्रेजी र हिन्दी भाषामा गरी २९ वटा पुस्तकहरु प्रकाशित भइसकेका छन् । मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते मानव अधिकार तथा शान्ति समाजको स्थापना भएको थियो ।