हेटौंडाः नागरिक समाज मञ्च मकवानपुरले मनहरी गाँउपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । गाउपालिकाले विपद व्यवस्थापनमा आर्थिक वर्ष २०७६/७७ मा पचास लाख रकम विनियोजन गरेपनि उक्त क्षेत्रमा हालसम्म उल्लेख्य काम हुन नसकेको भन्दै नागरिक समाज मञ्च मकवानपुरले ध्यानाकर्षण पत्र बुझाएको हो ।
वास्तविक बाढी प्रभावितहरुको यकिन गरि छिटोभन्दा छिटो वस्तीको व्यवस्थापन गर्नुपर्ने, जोखिमयुक्त बस्तीको नक्साङ्कन गरी विस्तृत योजना बनाउनुपर्ने, विपद् व्यवस्थापन कोषको व्यवस्था गरिनुपर्ने लगायतका विषय ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मञ्चकी संयोजक रमिला सापकोटाले कृषि सम्वन्धी विविध अनुदान कार्यक्रमहरुबाट गैरकृषकहरु नै बढी लाभान्वित भएको देखिएकोले वास्तविक कृषक कार्यक्रमबाट वञ्चित हुनु पर्ने आउन नदिन सचेत गराइन् ।
गाउँपालिकाबाट सुनाचुरी एकीकृत कृषक समूहलाई यसै वर्ष अनुदान स्वरुप दुई लाख रकम विनियोजन गरेपनि उक्त रकम वास्तविक किसानसम्म नपुगेको अनुगमनका क्रममा देखिएको संयोजक सापकोटाले बताइन् ।
ध्यानाकर्षण पत्र बुझ्दै गाँउपालिकाका अध्यक्ष उप्रेतीले आफुहरुसँग कृषि विज्ञ नभएकाले कृषिका योजनाहरु अगाडी बढाउन नसकिएको र दक्ष तथा अनुभवी कृषि विज्ञ ल्याउने तयारी गरीरहेको जानकारी गराए ।
उनले सहकारी मार्फत दुग्ध विक्री वितरण गर्ने किसानहरुलाई गाउँपालिकाले प्रोत्साहन स्वरुप प्रतिलिटर एक रुपैया कृषकको खातामा जम्मा गरिदिने व्यवस्था गरेको समेत जानकारी दिए ।
नागरिक समाज मञ्च मार्फत आएका सुझावलाई मनन गरी आगामी दिनमा किसानको हित हुने काममा अझ बढी जिम्मेवार भएर लाग्ने अध्यक्ष उप्रेतीले प्रतिबद्धता जनाए ।