हेटौंडाः बागमती प्रदेशका प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन् । एमसीसीसँग सरकारले विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न लिने भनिएको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको भन्दै उनले यस्ता अनुदान लिने कामबाट सरकार पछि हट्न नहुने बताए ।
विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न भन्दै नेपालले पचास करोड डलर अनुदान लिने गरी सन् २०१७ मा गरेको सम्झौतामाथि पक्ष विपक्षमा मत सार्वजनिक भइरहँदा सांसद खतिवडाले विवादास्पद बुँदाहरु हटाएर परिमार्जनसहितको प्रस्ताव अघि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
‘नेपाल जस्तो विकासोन्मुख मुलुकले आर्थिक प्याकेज अस्वीकार गर्नु भनेको अमेरिकाको लागि पनि च्यालेन्ज हो, त्यसैले अमेरिका आवश्यक परिमार्जन गर्न पनि पछि हट्दैन’, उनले भने । देश विकासको लागि सहयोग आवश्यक हो भन्दै उनले त्यसैको आधारमा संविधानभन्दा माथि रहने कुनै सम्झौता भने गर्न नहुने बताए । संविधान र स्वाधीनतामा बाझिने कुरा परिमार्जन गरी नेपालले एमसीसीको सहयोग स्वीकार्नुपर्नेमा जोड दिँदै सांसद खतिवडाले ‘देशको आवश्यकता पहिचान गरी सहयोग भित्र्याउन खोजिएको हो, फिर्ता जानुपर्छ भन्ने कुरा देशको हितमा छैन’, भने ।
सत्ताशीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका अध्यक्षसमेत रहेका उनले पार्टीको दोस्रो तहका नेताले एमसीसीबारे जथाभावी प्रतिक्रिया दिँदै हिँडेको भन्दै त्यसको विरोध समेत गरे । नेताका कुराले सर्वसाधारणलाई दिग्भ्रमित पारेको भन्दै प्रदेश सभा सदस्य खतिवडाले ‘कुरा राख्ने पनि ठाउँ हुन्छ, जहाँतहीँ सस्तो लोकप्रियताका लागि बोल्दै हिँड्दा त्यसले पार्टी र संगठनलाई कमजोर बनाउँछ, सक्नेले आफ्नो कुरा सम्बन्धित समितिमा राखेर अरुलाई पनि विश्वस्त पार्दै निर्णय गर्न सक्नुपर्छ’, भने ।
प्रदेशमा मन्त्रीमण्डल विस्तारको चर्चा चलिरहेको सन्दर्भमा नुवाकोट जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद खतिवडाको पनि चर्चा सुरु भएको छ । नेकपा नुवाकोट जिल्लाका अध्यक्ष खतिवडा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।