हेटौंडाः सरकारले प्रतिबन्ध लगाएसँगै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गर्ने लहर चलेको छ । आज आइतबार मकवानपुरका चार जना नेताले संयुक्त रुपमा पार्टी परित्याग गरेका हुन् ।

सो पार्टीको जिल्ला तहका ४ जना नेताले हेटौंडामा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी छाड्नेहरुमा अक्कल बहादुर गोले ‘धावा’, गीता कार्की र अर्जुन चौलागााईं र नारायण प्रसाद गौतम रहेका छन् । उनीहरु चारै जना नेकपा मकवानपुरको सदस्य हुन् ।

उनीहरुले शान्तिपूर्ण व्यक्तिगत र सामाजिक जिवनमा असहज परिस्थिति भएकोले पार्टी परित्याग गरेका बताएका छन् । प्रेस विज्ञप्ति जारी गर्दै देशमा वैदेशिक शक्तिको हस्तक्षेप, भष्ट्राचार, कालोबजारी, कमिसनखोर र दलाल प्रवृतिले नेपाली जनताको जीवन झन कष्टकर बन्दै गएको बताएका छन् ।

उनीहरुले गैरराजनीतिक, सामाजिक र नागरिक अभियान्ताहरुको अभियान राष्ट्रिय जनसरोकार मञ्च मकवानपुरमा आवद्ध रहेर बाँकी जिवन देश र जनताको लागि स्वतन्त्रपूर्वक लाग्ने प्रतिबद्धता जनाए ।