हेटौंडाः वरिष्ठ संगीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याउने ७ जना पुरस्कृत हुने भएका छन् । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी यसवर्ष पुरस्कृत गरिने सात जनाको नाम सार्वजनिक गरेको हो ।

विरागको ८६औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष उज्वलशर्मा भण्डारीले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भण्डारीले बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट बरिष्ठ संगीतकार शुभबहादुर सुनाम पुरस्कृत हुने जानकारी दिएका छन् । त्यस्तै, १० हजार राशीको तुलसीमाया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार शान्ति प्रियवन्दनालाई प्रदान गरिने भएको छ ।

त्यसैगरी भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट अमन कोईराला पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ, भने यो वर्षको शिला नारी प्रतिभा पुरस्कार छमछमी विजेता सन्ध्या आचार्यले प्राप्त गर्ने भएकी छन् । पुरस्कारको राशी नगद १५ हजार रहेको छ ।

११ हजार १ सय ११ नगदसहितको चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कार छवि अनित्यलाई दिईने भएको छ । त्यसैगरी नगद १० हजार राशीसहितको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई प्रदान गरिने भएको छ । नगद १० हजार १ राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छालाई प्रदान गरिने जानकारी दिइएको छ । प्रतिष्ठानले प्रदान गर्दै आएको विजुलीमाया वन राष्ट्रिय पुरस्कार भने यसवर्ष केही समयपछि हुने आयोजकले जनाएको छ ।