हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित दुर्लभ वन्यजन्तु सालकको खपडा बिक्री बितरणको लागि बार्गेनिङ भईरहेको अवस्थामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय गौरव गौतम, सोही ठाउँका ३१ वर्षीय कृष्ण बहादुर गोले र हेटौंडा–११ बस्ने ४८ वर्षीय सूर्य लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी सहायक निरीक्षक नविन बिक्रम थापाको कमाण्डमा खटिएको टोलिले बिषेश सुचनाको आधारमा सालकको खपडासहित उनीहरुलाई फेला पारेको हो ।
उनीहरुले कालो झोलामा ल्याएको २ किलो १९० ग्राम दुर्लभ वन्यजन्तु सालकको खपडा पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हेटौंडा पठाउने कार्य भईरहेको प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता ललन प्रसाद कुर्मीले जानकारी दिए ।
उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम कारवही हुने जनाइएको छ । सालक अति संरक्षित वन्यजन्तु हो । यस कसुरमा ५ लाखदेखि १० लाखसम्म जरीवाना वा ५ बर्षदेखि १५ बर्षसम्म कैद वा दुबै सजाय हुने कानुनी प्रावधान छ ।