हेटौंडाः लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएकी अजिता भुजेलको शव विभत्स अवस्थामा फेला परेको छ । आज शनिबार बिहान कान्तिलोकपथ अन्तरगत हेटौंडा उपमहानगरपालिका–५ क्याम्पाडाँडामा उनको शव फेला परेको हो ।
तेस्रो लिंगी भुजेलको शव अर्धनग्न अवस्थामा सडक छेउमा भेटिएको हो । शरिरको माथिल्लो भागमा मात्रै कपडा रहेको अवस्थामा रहेको शवको घाँटीमा दाग देखिएको प्रत्यक्षदर्शीले बताए । हेटौंडा–११ की २९ बर्षीया भुजेलको शव क्याम्पाडाँडाबाट चौघडा जाँदाको पहिलो मोडमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरसहितको प्रहरी टोली र मृतक भुजेलका साथीहरु पुगेका थिए । अजिताका साथीहरुले शव उनको भएको पुष्टि गरेका हुन् । अनुसधनका लागि घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । शवको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने बताइएपनि प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै तत्काल केही भन्न नमिल्ने बताएको छ ।