हेटौंडाः आज (बिहिबार) बिहानदेखि बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक फेरि स्थगित भएको छ।

मुख्यमन्त्री डोरमणि पौडेलको सरकारी निवास हेटौंडामा सञ्चालन भएको बैठक भोलि शुक्रबार ११ बजेसम्मलाई स्थगित भएको हो । बैठकमा नेकपा सचिवालयको निर्णयलाई कार्यान्वयनबारे छलफल भएपनि ठोस निर्णय अझै लिन नसकेको मुख्य सचेतक रामेश्वर फुँयालले बताए।

केही सांसदले धारणा राख्ने र शीर्ष नेतृत्वले केन्द्रीय निर्णय कार्यान्वयनका लागि निर्देशन दिने तयारी भएपनि राजधानीको विषयमा असन्तुष्ट पक्षलाई फेरि आफ्नो कुरा राख्न दिने भन्दै बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो। संसदीय दल मात्र नभई अन्य दलहरूमा समेत छलफल गरेर नाम र राजाधानीको विषय सर्वसम्मत ढंगले टुङ्ग्याउने प्रयास भइरहेको मुख्य सचेतक फुयाँलको दाबी छ ।