हेटौंडाः झरना साहित्यक परिवार मकवानपुरको २४६ औं साहित्य शृङ्खलाको अवसरमा आज आईतबार बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रममा पठन र लेखन संस्कृतिको विकास किन र कसरी ? भन्ने विषयमा झरना साहित्यिक परिवारका सचिव चिरञ्जीवी लामिछानेले अभिमुखीकरण दिए । साथै झरनाका अध्यक्ष दीपक गौतमले काव्य विधा अन्तर्गतका हाइकु, मुक्तक, गजल, लोक छन्दका कविता तथा गद्य कविता लेखनबारे प्रशिक्षण तथा लेखन अभ्यास गराएका थिए ।

झरना साहित्यिक परिवार मकवानपुरले मकवानपुरको हेटौंडा उपहानगरपालिका, बकैया गाउँपालिका, मकवानपुरपुरगढी गाउँपालिका, कैलाश गाउँपालिका लगायतका ४० भन्दा बढी विद्यालय तथा क्याम्पसहरूमा पुगेर सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तर्गत काव्य प्रशिक्षण सम्पन्न गरिसकेको छ जनाएको छ । साथै अधिकांश विद्यालयहरूमा बाल साहित्य समिति समेत गठन गरिसकेको झरना साहित्यिक परिवारका अध्यक्ष गौतमले बताए ।

विद्यालयकी सहायक प्रधानाध्यापक संगीता दाहालको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवजित जिम्बाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा प्रभात मावि र बकैया–४ स्थित महेन्द्र नमूना माविका शिक्षक, विद्यार्थी करिब ७५ जना उपस्थित थिए ।