हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयले प्रदेश ३ को राजधानी र नामाकरणबारे सर्वसम्मत रुपमा निर्णय गरेसँगै यस विषय पेचिलो बन्दै गएको छ । प्रदेशको राजधानी हेटौंडा र नाम बागमती राख्ने भनी नेकपा सचिवालयले निर्णय गरेको थियो ।
यससँगै निर्णयको पक्ष र विपक्षमा मत आइरहेका छन् । केहीले सांसदको अधिकारमाथि पार्टीले हस्तक्षेप गरेको आरोप लगाएका छन्, भने केहीले यसलाई सकारात्मक रुपमा लिएका छन् । यसै सन्दर्भमा मकवानपुरका पत्रकार शिवकुमार रिजाल (काशी)ले नेकपाका नेताहरुलाई सम्बोधन गर्दै सामाजिक सञ्जाल (फेसबुक)मा खुलापत्र लेखेका छन् । पत्र यस्तो छः
श्री अष्टलक्ष्मी शाक्य ज्यू, श्री राजेन्द्र पाण्डे ज्यू, श्री केशव स्थापित ज्यू ,
मुख्यमन्त्री डोरमणि पौडेलसँग तपाईहरुको इगो, दुश्मनी र बदलाभाव होला । बदला मुख्यमन्त्रीज्यूसँगै कुनै कालखण्डहरुमा हिम्मत पुगेमा लिनु होला । तर, मुख्यमन्त्रीको रिसले राजधानीका बिषयमा हेटौंडामाथि यहाँहरुले जुन दुराशय व्यक्त गरिरहनु भएको छ नि, त्यो चाहिँ कुनै पनि अर्थमा स्वीकार्य छैन । प्रदेश राजधानी हेटौंडा हुनैपर्छ ।
बोधार्थ,
१. शालिकराम जमकट्टेल (निर्णायक ठाउँमा बसेर बांगो कुरा नगर्न सुझावका लागि)
२. इन्द्रबहादुर बानियाँ (प्रजातन्त्रको जननी दाबी गर्ने कांग्रेसले दुईजिब्रे निर्णय नगर्नका लागि)