हेटौंडा, पुस ४
भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित श्री कृष्ण मा.वि भैंसेमा मानव बेचविखन विरुद्ध तथा सुरक्षित आप्रावसन सम्वन्धि एकदिवसीय अभिमुखिकरण गरेको छ । माईती नेपाल हेटौंडाको आयोजनामा भएको सो अभिमुखीकरण कक्षा ९ र १० का विद्यार्थीहरु एव् शिक्षक शिक्षिकाहरुको सहभागितामा गरेको हो । अभिमुखीकरणमा मानव बेचविखन विरुद्ध र सुरक्षित आप्रावसनको विषयमा माईती नेपालका कार्यक्रम संयोजक माया लामाले विद्यार्थीहरुलाई सचेतना गरेका हुन् ।

यसैगरी वर्तमान अवस्थामा प्रदेश नम्वर ३ सामाजिक विकास मन्त्रालयले २०७८ सालसम्ममा प्रदेशलाइ बालविवाह मुक्त प्रदेश घोषण गर्ने लक्ष्य राखेका छन् । सोही अनुसार मकवानपुरका बालविवाह मुक्त प्रदेश अभियानका सहजकर्ता पविना लामाले माईती नेपालसंग समन्वय गरी बालविवाह विरुद्धमा सरकारले तय गरेको नीति एव् उमेर नपुगी गरेको विवाहले भविष्यमा पर्नेसक्ने सामाजिक, मानसिक,आर्थिक,शैक्षिक असरहरु विद्यार्थीहरु वीच जानकारी गराएका हुन् ।

विद्यालयका प्रध्यानाध्यापक कृष्णलाल श्रेष्ठको अध्यक्षता तथा वडा अध्यक्ष एव् विद्यालय व्यवस्थापनको अध्यक्ष काँसीराम बज्युको प्रमुख आतिथ्यमा भएको हो । समुदाय प्रहरी साझेदारी वडा कार्यलय भैंसे, श्री कृष्ण मा.वि को समन्वयमा माईती नेपाल हेटौंडाले अभिमुखीकरण आयोजना गरेको हो । अभिमुखीकरणमा अभिभावकको तर्फबाट अप्सरा लोप्चन, प्रहरी नायव दिलिप कुमार सिंह, विद्यालयका शिक्षक शिक्षिकाहरु लगायत माईती नेपालको कार्यक्रम सहसंयोजक मन लामाको उपस्थितिमा सम्पन्न भएको हो ।