हेटौंडा, पुस १
माईती नेपाल हेटौंडाले हेटौंडा उपमहानगरपालिका १४ मयुरधाप स्थित जनज्योति मा.विमा एकै दिन २ ओटा कार्यक्रम गरेको छ । मगंलवार भएको कार्यक्रम, मानव बेचविखन विरुद्ध तथा सुरक्षित आप्रवासन सम्वन्धि एकदिवसीय अभिमुखीकरण र मानव बेचविखन विरुद्धको सचेतनामुलक सडक नाटक गरेको हो ।
विद्यार्थीहरुको वीच गरिएको अभिमुखी कार्यक्रममा मानव बेचविखनको वर्तमान अवस्थाको बारेमा छलफल गर्नुको साथै मानव बेचविखन बैदेशिक रोजगारको बाहानामा भईरहेको विषयमा बृहत छलफल गरिएको छ । यो छलफलको सहजीकरण माईती नेपाल हेटौंडाका कार्यक्रम संयोजक माया लामाले गरेको हो । त्यस्तै बालविवाहको विषयलाई लिएर विद्यार्थीहरु वीचमा भएको छलफलको सहजीकरण बालविवाह मुक्त प्रदेश अभियानको सहजकर्ता पविना लामाले गरेका हुन् ।
यसैगरी लागुऔषध विरुद्ध विषयकमा वडा कार्यलय पशुपतिनगरबाट प्रहरी साहायक निरिक्षक महानन्द प्रसाद कुर्मीले विद्यार्थीहरुलाई सचेतना गरेका हुन् । माईती नेपाल हेटौंडाको आयोजना, जनज्योति मा.वि एव् समुदाय प्रहरी साझेदारी पशुपतिनगरको समन्वयमा भएको सो कार्यक्रम विद्यालय व्यवस्थापनका अध्यक्ष ज्ञान बहादुर लामाको अध्यक्षता एव् वडा अध्यक्ष दिपक खड्काको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा विद्यालयका प्र.अ, शिक्षक शिक्षिका लगायत वडामा बुद्धिजिवीको सहभागी रहेको छ ।