शुभलक्ष्मी विश्वकर्मा/हेटौंडा,३० मंसीरः भीमफेदी गाउँपालिका–६, उर्लाघारीका सुकुमाया गोलेको घर आधा भत्किएको छ । ढुंगामाटोले बनेको उनको घर २०७२ बैशाखको भुकम्पका कारण आधा भत्किएपछि उनीहरु आधा बाँकी रहेको घरमा गुजारा गर्न थालेका हुन् ।
आधा भत्किएको घरमा उनीहरुले ५ वटा वर्षा काटिसकेका छन् । ‘भत्किएको घरमै सुत्ने हो, पानी पर्दा उठेर अन्त भाग्छौं’, सुकुमायाले भनिन् । सुकुमायाको २ जनाको परिवार छ । उनका श्रीमान् बेलाबखत अन्यत्र काममा जान्छन्, भने धेरैजसो उनीहरु आफ्नै घरमा बसेर खेतीका काम गर्छन् । आफ्नो आम्दानी र कमाईले घर बनाउन सक्ने अवस्था नभएको र भूमिहीन परिवारलाई सरकारले अहिलेसम्म नहेरेका कारण यसरी बस्नुपरेको सुकुमायाले बताइन् ।
भुकम्पले घर पूर्ण रुपमा क्षति भएपछिका केही वर्ष जस्ताको टहरामा बिताएको किटभन्ञ्याङका टोलीमाया लोप्चनको परिवारले चाहीँ आफ्नै प्रयासमा अर्को घर बनाएको छ । जस्ताको टहरामा कष्टका साथ बसेको दिनहरु सम्झँदै टोलीमायाले ‘सुख दुःख गरेर यही साल घर बनायौं, सरकारले केही दिन्छ कि दिँदैन थाहा छैन’, भनिन् ।
यस वडाका किटभन्ज्याङ, उर्लाघारी, काफलचौर, लामखोला, पारीबजार लगायत गाउँका किसानसँग आफू बस्दै आएका जग्गाको लालपूर्जा छैन । खोतीयोग्य जमिन कमै भएकाले यहाँका युवा वर्ग कामका लागि अन्यत्र जाने गर्छन् । काठमाडौं, देउराली लगायत ठाउँमा यहाँका युवा वर्ग कामका लागि जाने गरेको स्थानीय कमानसिं स्याङ्तानले बताए । भुकम्पले घर भत्किएपछि भूमिहीन किसान अन्योलमा थिए । सरकारले भूमिहीन लाभग्राहीलाई लक्षित गरी छुट्टै व्यवस्था गर्ने निर्णय गरेपछि उनीहरुमा आफ्नो घर पनि बन्छ कि भन्ने आशा पलाएको छ ।
भीमफेदी–६ अन्तर्गत किटभञ्ज्याङको १३, उर्लाघारीको १५, लामखोलाको ८, पारीबजारको ४ र काफलचौरको ३ गरी ४३ घर परिवार लाभग्राही सूचीमा छन् । सो वडाका भूमिहीन तथा लाभग्राही सूचीमा रहेका ४३ घरधुरीलाई लक्षित गर्दै वडा कार्यालयले पुनः स्थलगत अवलोकन गरी सम्झौता प्रक्रिया अघि बढाएको ६ नम्बर वडाध्यक्ष सिताराम थापाले बताए ।
भूमिहीन लाभग्राहीको अवस्था बुझ्न वडाध्यक्ष थापासहित ६ नम्बर वडा सदस्य तथा भीमफेदी गाउँ कार्यपालिका सदस्य मंगलादेवि श्रेष्ठ, वडाका सदस्यहरु सनत कुमार घिसिङ र रेशम बहादुर पुलामी थापा मगर प्रभावित समुदायका बस्तीहरुमा पुगेका थिए । संयुक्त अनुगमनमा जनप्रतिनिधिका साथै पून निर्माण प्राविधिकहरु सुरेन्द्रबहादुर थापा मगर र भीमबहादुर शाही, विद्युत प्राधिकरणका प्राविधिक मनोज थापा, फियान नेपालका मकवानपुर प्रमुख रेश्मी कार्की, भीमफेदी खाद्य अधिकार सञ्जालका संयोजक दीपक पुडासैनी अनुगमन टोलीमा थिए ।
भूमिहीन समुदायको सवालमा काम गर्दै आएको फियान नेपालकी मकवानपुर प्रमुख कार्कीले त्यहाँको अवस्थाबारे जानकारी दिँदै आफूहरुले गरिरहेको सहजीकरणबारे बताइन् । उनका अनुसार भूमिहीन समुदायको आवास पूननिर्माणको सम्बन्धमा समुदायको क्षमता विकासमा फियानले सहजीकरण गरेको छ । आवासको ग्यारेन्टी नभएसम्म खाद्य सुरक्षा नहुने निश्कर्षसहित भूमिहीन समुदायको खाद्य अधिकार सुरक्षाको लागि उनीहरुलाई तालिम तथा आवास पून निर्माणको लागि आवश्यक कागजी प्रक्रियामा भीमफेदी–६, सहित बकैया गाउँपालिका–५,६ र ७ मा पनि सघाउँदै आएको प्रमुख कार्कीले जानकारी दिइन् ।
मकवानपुरका ३४ हजार ३१९ घरधुरी पूर्ण क्षतिको लाभग्राही सूचीमा छन् । तीमध्ये १८ हजार ३४५ घरधुरीले मात्र घर बनाएर अन्तिम किस्ता बुझेको राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका सूचना व्यवस्थापन विशेषज्ञ सन्तोष लम्सालले बताए । जसमध्ये २९ परिवार भूमिहीन छन् ।
जिल्लामा ३ हजार ६४३ लाभग्राही भूमिहीन रहेको जिल्ला समन्वय समिति मकवानपुरले पहिचान गरेको छ । सरकारले भूमिहीन लाभग्राहीका लागि छुट्टै व्यवस्था गरेको छ । भूमिहीन लाभग्राहीले आफू बसेको ठाउँ छोड्न चाहेमा जग्गा खरिदको लागि सरकारले २ लाख रुपैयाँसम्म दिने वा त्यही ठाउँमा बस्न चाहेमा आवश्यक प्रक्रिया पूरा गरी सम्झौताको व्यवस्था गरेको छ ।
पूननिर्माण प्राधिकरणले चालु आर्थिक वर्षभित्रै पुनर्निर्माणको काम सक्ने गरी योजना बनाएको सूचना व्यवस्थापन विशेषज्ञ लम्सालले बताए । सोही अनुसार योजना कार्यान्वयनका लागि कार्यालयले लक्षित समुदायलाई ०७६ पुस मसान्तभित्र लाभग्राही कायम गर्ने एवं टुंगो लगाउने, ०७६ माघ मसान्तभित्र पहिलो किस्ता लिइसक्नु पर्ने, ०७७ बैशाख मसान्तभित्र दोस्रो किस्ता लिइसक्नुपर्ने र ०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने भनी सूचना जारी गरेको छ ।